गजेन्द्र बोहरा
कुनैबेला ‘गुरिल्ला गोरेटो’मा हतार अनि हतास र अत्तालिएका पाइलाहरू अघि बढाउने पुष्पकमल दाहाल (प्रचण्ड) रुकुमेली उकाली-ओरालीमा ‘मर्निङ वाक्’ गरिरहेका छन्। फरक यत्ति हो, त्यो बेला उनका पाइलाहरू ‘बेलगाम’ थिए। ‘जनयुद्ध’को अभीष्टका भारीले उनलाई यो भूमिमा धेरै नै थिचेको थियो। आज फेरि पनि उनी त्यही भूमिमा छन्। तर उनीसँग यतिबेला केही छैन, माओवादी छैन। हँसिया हथौडा छैन। जनयुद्ध छैन। आफ्नै कार्यकर्ता र सहयोद्धाहरू छैनन्। प्रचण्ड जीवनका ‘पर्छाई’ बनिरहने सीता अनि प्रकाशहरू पनि छैनन्।
प्रचण्डले राजनीतिक मात्रै होइन, व्यक्तिगत जीवनमा पनि धेरै कुरा छुटाएका छन्। र, पनि उनलाई लाग्छ राजनीतिको फराकिलो राजमार्गमा अझै यो गति थामिने छैन। चितवनदेखि, काठमाडौं अनि सिरहादेखि गोर्खा हुँदै पूर्वीरुकुमको हिमाली फेंदमा उनि दौडिरहेको ‘मर्निङ वाक्’को अन्तर्य यही हो। र, पटक पटक उनले भन्ने गरेका छन् कि ‘प्रचण्ड छोडिदैं जान्छन् कि, आफैंले छोड्दै जान्छन्…।’
‘म त्यो पिता हो जसले आफ्नै आँखाअघि खेल्दै गरेका जेठी छोरी ज्ञानु र छोरा प्रकाशलाई गुमाउनुपरेको छ। म त्यो पति हो जसको जीवनसंगिनी सीताले बीचबाटोमै साथ छोडेर गइन्’ केही दिनअघि चुनावी सन्देशका क्रममा प्रचण्ड व्यक्तिगत जीवनमा भावुकमात्रै भएनन् बरु राजनीतिक रुपमा अझै कैयौं माइलको यात्रा नाप्ने संकेत पनि दिए।

‘या त तिमी नायकका रुपमा मर। या त आफूलाई खलनायक बनेर हेर्न जीवित रहू। सायद म धेरै अघि बिदा भएको भए मलाई नायकका रुपमा मात्र लिइन्थ्यो’ एउटा हलिउड फिल्मको डायलग नेपालीमा उल्था गर्दै उनले भनेका थिए ‘तर म खलनायक भएर इतिहासको पानामा हराउन चाहन्नँ…।’
पक्कै हो, प्रचण्डको जीवनमा बँचेको अब मात्रै यही अभीष्टपूर्ण ‘आत्मविश्वास’को गुब्बारामात्रै हो। नत्र त ७२ वर्षे जिन्दगीको उकालो चढ्दै गरेका प्रचण्डको राजनीतिक र निजी जीवनमा धेरै कुरा छुटेका छन्। धेरै कुरा उनी आफैँले पनि छुटाएका छन्। छुट्ने र छुट्टिएका धेरै अवयवहरूले प्रचण्डलाई कहिँ न कहिँ, कतै न कतै अहिले पनि झस्काइरहन्छन्।
जसरी तत्कालीन नेपाली काँग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाले आफ्नो सारा राजनीतिक जीवन दाउमा लगाएर जंगलबाट उनलाई राजनीतिको खुला राजमार्गमा ल्याए, त्यसपछि सिधै संविधानसभाको निर्वाचनमा होमिएको तत्कालीन माओवादीलाई सत्ताका उकालो सजिलो भयो। नेपाली मतदाताले सायद त्यो बेला फेरि ऊ जंगल नफर्कियोस् भनेर सारा मतभारा दिए। नत्र त्यसपछिको सत्ता राजनीतिमा प्रचण्डलाई कहिल्यै सजिलो भएन जति सजिलो २०६४ सालको संविधानसभाको निर्वाचनपछि थियो। हतियार बिसाइवरी युद्ध सकाएर प्रचण्डको त्यो ‘क्रान्तिकारी धार’ १० वर्षपछि सिंहदरबारतिर पाइला नाप्दै थियो।

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमै जनयुद्ध बिसाएको माओवादीले ‘अभूतपूर्व’ बहुमत पायो। संसदीय राजनीतिको छोटो यात्रामा तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले राजनीतिको यो उवडखावड राजमार्गमा धेरै ‘संयोग’ र अवसरहरू पाएका छन्। जेनजी विद्रोहपछि बिथोलिएको राजनीतिक परिस्थितिलाई सम्हाल्दै फेरि प्रचण्डले आफ्नो यो यात्रालाई राजनीतिक जीवनको अन्तिम इनिङ भनेका छन्।
यो इनिङलाई सफल अवतरणका लागि उनले व्यक्तिपिच्छे ‘कम्यूनिष्ट’ झुन्ड्याएकाहरूलाई समेत पार्टीको हैसियत दिए। बरु आफ्नो राजनीतिक इतिहास गाँसिएको ‘माओवादी’ अनि माओवादसमेत छोडे। हँसिया हथौडा बिलीन बनाए। तर, कम्युनिष्टका एकल टुकुडीहरूलाई उनले पार्टीभित्रै समाहित गराएरै छोडे।
आफैंले स्थापित गरेका राजनीतिक अनि व्यक्तिगत जीवनका सिद्धान्त र आदर्शका घेराहरू नाघेर अंगालेको संसदीय यात्रामा प्रचण्डले जति अलमल, जालझेल र आरोह अवरोहहरू खेपे त्योभन्दा बढी उनको कुटिल राजनीतिक पाइलाहरू छिटोछिटो अघि बढे। जंगलबाट सिधैं सिंहदरबारको यात्रा तय गरेका प्रचण्डको पार्टी नेकपा (माओवादी)ले जसरी २०६४ सालमा राजनीतिक उछाल ल्यायो र पायो त्यसको १५ वर्षपछि त्यही गतिको ओरालो यात्रा प्रचण्ड एक्लैले जबर्जस्ती थामिरहेका छन्।
गोर्खा र चितवनको वात्सल्यपछि पाटनको एउटा अध्याँरो छिँडीबाट ‘जनयुद्ध’को उज्यालो देखेका पुष्पकमल दाहाल (प्रचण्ड)लाई आजभोलि लाग्छ, उज्यालोको त्यो क्षितिज पुग्ने बाटाहरू धेरै अलमलिएका छन्। उनको आफ्नै राजनीतिक जीवनको बाटो खलबलिएको छ। चार दशकभन्दा बढी समयदेखि सिङ्गो पार्टी र जनयुद्धको भारी बोकिरहेका प्रचण्डको त्यो पार्टी र ‘जनयुद्ध’ अनि सत्ता र संसदीय राजनीतिक यात्राहरू उही र उस्तै रहेनन्।

‘क्रान्तिको बिम्ब’ बनेको जनयुद्धको त्यो ऐनामा जमेको धुलो पुछ्दापुछ्दै फेरि पार्टी यसरी बिथोलिएको छ कि प्रचण्ड आफैँलाई थाहा छैन, बिथोलिएको यो यात्रा कहाँसम्म पुग्छ। हिजो माओवादी थियो। ‘माओवाद’ प्रचण्ड थिए। जनयुद्ध थियो। उनको त्यो क्रान्ति थियो। हजार सपनाहरू उनकै लागि मलामी जान तयार थिए। आज ती केही छैनन्।
र, त प्रचण्डलाई लाग्छ- पार्टी पार्टीजस्तो छैन। फरक यत्ति हो, प्रचण्ड पनि प्रचण्डजस्ता छैनन्, रहेनन्। आफैंले खनेको युद्धमार्गमा अहिले प्रचण्ड यसरी दौडिरहेका छन्, मानौं राजनीतिक नियतिहरूले उनलाई अब धेरै पछि छोडिसकेका छन्। रुकुमपूर्व पुगेको यसपालिको चुनावी यात्राका क्रममा प्रचण्ड कैयौंपटक त्यही ‘जनयुद्ध’, ‘माओवादी’ अनि ‘जनसेना’हरूको मधुरा यादहरूमा धेरै घोत्लिएका छन्। चुनाबाङमा बचेको एउटा अवशेषमाथि टेक्दै गर्दा प्रचण्ड त्यस्तै भावुक देखिएका थिए। जे थियो त्यहि बेला थियो अनि त्यहिँ थियो। चुनबाङको त्यो बैठकस्थलमा नजरहरू घुमाउँदै गर्दा उनका यादहरू सायद जनयुद्धको त्यो जगजगीमा रसाइरहेका थिए।

तर जुन सिद्धान्त अनि आदर्शका पथहरूलाई ‘संश्लेषण’ गर्दै उनले आफ्नै मौलिक राजनीतिक पथ बनाएका थिए त्यो पथमा अब उनी आफैँ छैनन्। उनका सारथी छैनन्। परिवार छैनन्। कार्यकर्ता छैनन्। जनता त झन् छदैँ छैनन्। बिराएको त्यो बाटोमा प्रचण्ड एक्लो छन् र एक्लै यात्रा गर्दैछन्। कसैले बाटो बनाउँदैछन्, बनाउन नसक्नेहरू बनेकाहरूको भत्काउँदैछन्। बाध्यताले उनको पदचाप पछ्याएजस्तो गर्ने नेताहरू पनि अब आ-आफ्नो लयको बाटो पछ्याइसकेका छन्।
संसदीय राजनीतिक राजमार्गमा सँगसँगै गरेको २२ वर्षे यात्राबाट विद्रोहको ‘मसाल’ बोकेर रुकुम पश्चिममा एक्लै हाँक दिइरहेका जनार्दन शर्मा (प्रभाकर) त्यसकै एक अंशियार हुन्। रुकुमपूर्वका उकाली अनि ओराली र उनि आफैंले खनेको ‘गुरिल्ला गोरेटा’हरूमा ठोक्किने हरेक पाइलामा अब दशवर्षे युद्धका घाउहरूमात्रै छन्।

प्रचण्ड यसमा पश्चाताप पनि गर्छन्। कहिले बैराग मान्छन्। भावुक हुन्छन् अनि कहिलेकाहीँ आँशु पनि खसाउँछन्। जसरी रुकुम–रोल्पालाई आधार इलाका बनाएर उनले २०५२ सालमा जनयुद्ध सुरु गरे। त्यो गुरिल्ला युद्ध विल्कुलै एउटा घरेलु युद्ध थियो। १० वर्षसम्म राज्यसँग लडेर थामिएका प्रचण्ड जीवनमा अहिले पनि युद्धका कैयौं अवयवहरूमा गिज्याइरहन्छन्। त्यसैले कहिले उनी सहिद परिवारसँग रुन्छन्, भावुक हुन्छन् र त्यो पीडा मेटाउने प्रयास गर्छन्।
जहाँबाट माओवादी जन्मियो फेरि त्यही भूमिबाट चुनाव लड्न जाँदा अब प्रचण्डसँग माओवादी छैन। न माओवाद नै रह्यो। न जनयुद्धको रापतापले ‘रातो’ भएका प्रचण्ड रहे। बरु अर्को संयोगपूर्ण पश्चातापको छडीले उनलाई यो चुनावीयात्रामा निकै घोचिरहेको छ, चुनावमा एकजना सहिदपुत्र सन्दिप पुनको चुनौती।
प्रचण्ड आफैंले नेतृत्व गरेको जनयुद्धमा राज्यसँग लड्न निस्किएका थिए रुकुमपूर्वका सूर्यप्रकाश पुन र परम्परा गौतम। युद्धकालका बेला सूर्यप्रकाश ‘सुन्दर’ नामले चिनिन्थे अनि गौतम ‘बृक्षा’का नामबाट। त्यो बेला सन्दिप नाबालकै थिए। युद्ध भर्खर सुरु भएको थियो तर रुकुम रोल्पाहरूमा लडाईं चर्किसकेको थियो। एउटा लडाईंका क्रममा तत्कालीन नेपाल प्रहरीले सूर्यप्रकाशको हत्या गर्यो। त्यसको केही महिनाको अन्तरालमै ‘बृक्षा’ पनि लड्दालड्दै ढलिन्।
बालखैमा टुहुरो भएका ‘सहिद’का सन्तान सन्दिप जसोतसो हुर्किए। बढे र उनी पनि यही पार्टीमा लागे। पार्टीको विद्यार्थी संगठनका नेता बनेका उनले जनयुद्धमा मारिएका तथा वेपत्ता पारिएका योद्धाहरूको न्यायका लागि संघर्ष पनि गरे। ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ का अध्यक्षसमेत भएर युद्धकालीन पीडित परिवारको पक्षमा वकालत गर्दै आएका उनले यसपालि प्रचण्डलाई नै चुनौती दिँदैछन्, त्यो पनि प्रचण्डकै सहयोद्धा बाबुराम भट्टराई अनि जनार्दन शर्माको संरक्षणमा।
यतिमात्रै होइन, युद्धकालका कैयौं यस्ता अवयवहरूले अहिले पनि प्रचण्डलाई झस्काइरहन्छन्। सत्तायात्राका क्रममा पनि प्रचण्डले अनेक चुनौतीहरूको सामना गर्नुपर्यो। पूरा कार्यकाल कहिल्यै सत्तामा रहन पाएनन्। राजनीतिक कैयौं वैतरणी पार गर्न कहिले केपी ओलीको फेरो समाए। कहिले काँग्रेससँग काँध मिलाए। कहिले कता कहिले कता ढल्किने अनि कहिले कता मिसिने प्रचण्ड स्वभाव नै बन्यो।
तर, जनयुद्धमाजस्तो उनको राजनीतिक र स्वंय व्यक्तिगत जीवन त्यसपछि कहिल्यै ‘सगोल’मा रहेन। बरु प्रचण्ड एक्लै रहे। एक्लै भए। यो चुनावका क्रममा आफ्नै राजनीतिक जीवनलाई ‘भंग’ गरेर कम्युनिष्टक दर्जनौ टुक्रा गाँस्ने प्रयास गर्दा पनि उनी फगत एक्लोजस्तै भएका छन्।

प्रष्ट छ, राजनीतिक जीवनमा अब प्रचण्ड ‘एक्लो’ चित्र हुन्। बेलाबेला निराश अनि भावुक भएर बर्बराइरहने प्रचण्डको ‘अवचेतन’ मनले स्विकारेको एउटा सत्य के हो भने, उनी एक्ला छन्, बिल्कुल एक्ला। भलै उनी बाहिर देखाउँदैनन्- अब उनका वरिपरि कोही छैनन्, सिवाय प्रचण्ड।
एउटा सग्लो बैंस ‘विद्रोह’मै गुजारेका छन्, पुष्पकमल दाहालले। जीवनमा त्यो बैंस ‘पुष्प’जसरी फुल्नै पाएन। बचेको सिङ्गो जवानी जंगलमै बित्यो, ‘जनयुद्ध’मै बित्यो। त्यहीँ कतै अल्मलियो। अनि १० वर्षपछि फेरि एउटा बाटो भेटियो, संसदीय राजनीतिको। जुन बाटोको नयाँ यात्रामा सब छुटे। कोही टुटे। कोही अटाएनन्। कोही भेटिएनन्।
२०६२-६३ पछि जंगलबाट सिंहदरबारको छेउछाउ मोडिएका पाइला बिसिन नपाउँदै केही साथ छुटिसकेका थिए, जब प्रचण्ड-पथ सिंहदरबार पछ्याउन थाल्यो अनि बचेखुचेका साथ पनि तितर-वितर हुन थाले। ‘सत्ता कब्जा’ र ‘साम्यवादी’ सपनाहरू मिसिएको संसदीय यात्राको यो ‘गञ्जागोल’मा अनि प्रचण्ड एक्लै भए। उनको त्यो आदिम यात्रामा, मिसिएका पाइलाहरू सबका सब छुट्टै गए। सकिन बाँकी जिन्दगीका अवयवहरू अब पूर्वी रुकुमबाट कति गाँस्न सक्लान्?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया