क्यानडामा आज सम्पन्न संघीय संसदको ४३औं निर्वाचनको मतगणना जारी छ ।
प्रारम्भिक रूझानअनुसार जस्टिन ट्रयुडो फेरि सत्तामा फर्कने संकेत देखिएको छ ।
अहिले ३३ स्थानको मतगणना हुँदा १७ स्थानमा सत्तारूढ लिबरल पार्टीले जीत हात पारेको छ भने ८ स्थानमा उसको बढत रहेको छ ।
यो पनि पढ्नुहोस्
क्यानडामा संघीय चुनाव : नेपालीभाषीको भोट कसलाई ?
क्यानडामा भोलि निर्वाचन : फर्केलान् त ट्र्युडो फेरि सत्तामा ?
यसैगरी प्रमुख प्रतिपक्षी कन्जरभेटिव पार्टीले ३ स्थानमा जीत र ३ स्थानमा अग्रता कायम गरेको छ ।
यसैगरी न्यु डेमोक्रेटले १ स्थान जित्दा ग्रीन र ब्लक क्युबेकस १-१ स्थानमा अग्रता लिएका छन् ।
‘हाउस अफ कमन्स’मा ३३८ सिटका लागि निर्वाचन हुन लागेको हो । १० प्रोभिन्सबाट ३३५ र तीन टेरिटोरीबाट एक/एक जना गरी ३३८ सांसद निर्वाचित हुनेछन् । बहुमतका लागि १७० स्थानमा जीत हासिल गर्नुपर्ने हुन्छ ।
सबैभन्दा धेरै सिट अन्टारियो प्रोभिन्समा १२१ सिट र सबैभन्दा कम प्रिन्स एड्वार्ड आइसल्याण्ड प्रोभिन्सबाट चार सांसद मात्रै निर्वाचित हुनेछन् । यस्तै, क्युबेकमा ७८, ब्रिटिश कोलम्बियामा ४२, अल्बर्टामा ३४, सास्काचुनमा १४, मानिटोवामा १४, नोभास्कोसियामा ११, न्यु ब्रन्सविकमा १० र न्यु फाउण्डल्याण्ड एण्ड ल्यावराडोर प्रोभिन्समा ७ सिटलाई प्रतिस्पर्धा हुनेछ । नर्थवेष्ट, युकोन र नुनाबुत, यी तीन टेरिटोरीबाट एक/एक सांसदले ‘हाउस अफ कमन्स’मा प्रतिनिधित्व गर्नेछन् ।
अघिल्लोपल्टे ‘लिबरल पार्टी अफ क्यानडा’ले एक सय ८४ सिट जितेर जष्टिन नेतृत्वमा बहुमतको सरकार बनाएको थियो ।
यसपल्ट पनि निवर्तमान प्रधानमन्त्री ट्र्युडोको ‘लिबरल’ र एण्ड्रिउ चिअरको ‘कन्जरवेटिभ पार्टी अफ क्यानडा’बीच नै मुख्य चुनावी प्रतिस्पर्धा रहेको छ ।