यौन हिंसाको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेका छन्। उपचारको क्रममा नर्भिक अस्पतालमा रहेका महराले प्रहरीलाई बयान दिन इन्कार गरेका हुन्।
महराले कमजोर स्वास्थ्यका कारण बयान दिन असमर्थता जनाएको उनका अधिवक्ता मुरारीप्रसाद सापकोटाले जानकारी दिए। ‘उहाँको कमजोर स्वास्थ्यका कारण आज बयान भएन’, उनले भने।
सरकारी निवासबाट पक्राउ परेका महराले प्रहरीसँग अनौपचारिक संवादमा भने आरोप अस्वीकार गर्दै आएको प्रहरी स्रोत बताउँछन् ।
एक अधिकृतले भने, ‘महिलाको घरमा गए पनि आरोप लगाए जस्तो केही भएको थिएन भन्ने उहाँको कुरा छ ।’
पीडित भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीको बयान पनि पटकपटक फेरिइरहेको छ । प्रारम्भमा १२ असोजको साँझ आफूमाथि बलात्कार प्रयास भएको भन्दै प्रहरीमा खबर गरेकी उनले स्वास्थ्य परीक्षण र उजुरी दिन मानिनन् ।
शाहीमाथि यौन दुरव्यवहार गरेको अभियोगमा महरालाई असोज १८ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नर्भीक अस्पतालमा राखिएको छ।
पक्राउपछि दसैं बिदा भएका कारण प्रहरीले गत मंगलबार मात्रै महरालाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतले दिएको म्याद शुक्रबार सकिएको छ। सनिबार सार्वजनिक बिदा भएका कारण प्रहरीले महरालाई आइतबार पुनः अदालतमा हाजिर गराउने छ।