सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१० मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार तत्कालै उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै घाइतेको उपचारमा गाउँपालिकाले आबश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको छ ।
इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस बिहान करिब ९ः३० बजे तिर्खुमोड दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा २ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको छ ।
अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रहरीका अनुसार इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु, पाँचखालकी संगीता फुर्कोटीको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी उपचारका लागि अस्पताल लाने क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, इन्द्रावती ९ की जुनादेवी लम्साल, गणेश तामाङ, सुमित फुर्कटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको हो। अन्यको भने सनाखद हुन सकेको छैन।
दुर्घटनामा सख्त घाइते ७० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ। थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धुलिखेल अस्पतालमा ६७ जना घाइतेको उपचार भइरहेको छ। धुलिखेल अस्पतालका चिकित्सक दीपक श्रेष्ठका अनुसार ६ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जनाको शल्याकृया जारी छ। यस्तैबनेपास्थित शिरमेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ।