को हुन् भारतका नवनियुक्त मन्त्री जयशंकर? जसले नेपालको संविधान रोक्न सक्रियता देखाएका थिए

तस्वीरः एजेन्सी

नेपालमा गणतान्त्रिक संविधान लागु गर्न नदिन ४ वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूत भएर नेपाल आएका एस (सुर्वमन्यम) जयशंकर कुशल कुटनीतिज्ञ मानिन्छन्। 

उनी नरेन्द्र मोदीको पहिलो कार्यकालमा विदेश सचिव थिए। सन् २०१८ मा सेवानिवृत्त भएपछि उनलाई मोदीले ठूलो जिम्मेवारी दिने आश्वासन दिएको भारतीय मिडियाहरूले जनाएका छन्।

उनलाई भारतको सुरक्षा सल्लाहकार बनाउने कि विदेश मन्त्रालयको जिम्मेवारी सुम्पिने? यो विषय अन्योलमा थियो। तर, मोदीको पहिलो कार्यकालमा विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेकी सुषमा स्वराज अस्वास्थ्य भएपछि उनको स्थानमा जयशंकरलाई जिम्मेवारी सुम्पिने सम्भावना प्रबल छ।

जयशंकर १९७७ मा सरकारी सेवामा आवद्ध भएका थिए। चीन र अमेरिकाको राजदूत भएर काम गरिसकेका जयशंकरको यी दुवै देशका राजनीतिज्ञहरू सँग राम्रो सम्बन्ध बनाएका छन्।

हाल चीन र अमेरिका ‘ब्यापार युद्ध’ मा सक्रिय छन्। यस्तो अवस्थामा भारतको उपस्थिति उनले दह्रोसँग राख्न सक्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा भारत र चीनबीच ७३ दिनसम्म चलेको दोकलाम विवादको अन्त्य उनले कुटनीतिक तरिकाले गरेका थिए।

मोदीको कार्यकालमा जयशंकर २०७२ साल भदौंमा विशेषदूत बनेर नेपाल आएका थिए। त्यतिबेला नेपालले लागु गर्न लागेको गणतान्त्रिक संविधानलाई रोक्न उनले नेपाली नेताहरू सँग दुई दिन म्याराथन वार्ता गरेका थिए।

तर, उनको प्रयास सफल भएन। सुशील कोइरालाको कार्यकालमा नेपालमा गणतान्त्रिक संविधान लागु भएपछि भारतले असोजमा नाकाबन्दी लगाएको थियो।

जयशंकरको सक्रियतामा सन् २००५ मा भारत र अमेरिकाबीच न्युक्लियर सम्झौता भएको थियो। भारतमा सर्वसाधारणलाई दिने सवैभन्दा ठूलो अवार्ड पद्यमश्री बाट उनलाई यसै वर्ष सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2019-05-30 22:35:16

प्रतिकृया दिनुहोस्