विगत ८ महिनादेखि स्वास्थ्यसम्बन्धि समस्याबाट गुज्रिरहेका भारतीय अर्थमन्त्री अरुण जेटलीले विहिबार बन्ने नयाँ सरकारमा आफू समावेश नहुने जानकारी दिएका छन्।
उनले बुधबार आफ्नो सोशल मिडियाबाट जानकारी दिँदै दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले सपथ लिने मन्त्रिमण्डलमा आफू समावेश नहुने स्पष्ट पारेका छन्।
उनले प्रधानमन्त्री मोदीलाई औपचारिक पत्र पठाउँदै पहिलो कार्यकालमा आफूलाई मौका दिएकोमा धन्यवाद ज्ञापन गरे।
‘पाँच बर्ष आफ्नो नेतृत्वमा बनेको सरकारमा मौका दिनु मेरो लागि सम्मानको विषय हो। धेरै कुरा सिक्ने मौका पनि पाए। यसअघि पनि एनडिएको पहिलो सरकारमा मैले काम गर्ने मौका पाएको थिए,’ मोदीलाई लेखेको पत्रमा उनले उल्लेख गरेका छन्।
उनको देब्रे खुट्टामा क्यान्सर पत्ता लागेपछि जनवरी २२ मा उपचारका लागि अमेरिका गएका थिए। उनको अनुपस्थितिमा रेल मन्त्री पियुष गोयलले छैटौं तथा अन्तिम बजेट पेश गरेका थिए।
६६ वर्षीय जेटली विपक्षीहरूका लागि पनि सर्वस्विकार्य नेता हुन्। उनको कार्यकालमा नोटबन्दीदेखि २० वर्षदेखि भारतीय संसदमा अड्किएको जिएसटी लागु गराउन महत्वपूर्ण योगदान गरेका थिए।