यू–१८ साफ च्याम्पियनसिप फुटबलमा कमजोर मानिएको भुटानसँग नेपाल पराजित भएको छ ।हलचोकस्थित एपीएफको खेल मैदानमा भएको खेलमा भुटानले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । भुटानको जितमा यसी दोर्जी,केजाङ जिग्मे र कर्मा सोनामले समान एक–एक गोल गरे । निकै दबाब दिएर खेलेको नेपालले गोल गर्ने अवसर निकै खेर फाल्यो ।
खेलको ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाए । उनकै गोलबाट पहिलो हाफ १–० ले पछाडी परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो । खेलको ८६ औं मिनेटमा बिशाल बस्नेतले केजाङ जिग्मेलाई लडाएपछि पेनाल्टी पायो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै जिग्मेले नै अग्रता २–० मा पुर्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा कर्मा सोनामको बकस बाहिरबाट गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।बाँकी समयमा नेपालले कुनैपनि गोल गर्न नसक्दा भुटानलाई ३ अंक सुम्पियो ।
समूहको अन्तिम स्थान भने भुटान र माल्दिभ्सको खेलपछि टुंगो लाग्नेछ । यसअघि नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।