रोहितको अर्धशतकमा युएईसामू नेपालद्वारा २८६ रनको लक्ष्य प्रस्तुत

तस्बिरः एसिसि

श्रीलंकामा जारी यु-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएलाई २८६ रनको लक्ष्य दिएको छ।

एफटिजेट स्पोर्ट्स कम्प्लेक्स, कटुनाएकेमा जारि खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाए। २८५ रन बनाएको हो।

कमजोर सुरूवात गरेको नेपालका लागि कप्तान रोहित पौडेल र आसिफ शेखले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोहर्‍याएका थिए।
ओपनर रित गौतम पहिलो बलमै आउट भएपछि पवन सर्राफ पनि चौथो ओभरमा शून्य रनमै आउट भए।

१९ औं ओभरमा आसिफ ४५ रनमा आउट भएपछि नेपालको तेस्रो विकेट गुम्यो। ५४ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए।

त्यसपछि आसिफको विकेट पछि आएका सन्दीप जोरासँग रोहितले ८५ रनको साझेदारी गरे। ३३ औं ओभरमा ६७ रन बनाएर आउट भएका रोहितले ८३ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि भीम शार्की १ रन बनाएर लगत्तै ओभरमा आउट भए। त्यसपछि अर्धशतक पुरा गर्न २ रनले चुक्दै जोरा पनि आउट भए। जोराले ५३ बल खेलेर ६ चौका प्रहार गर्दै ४८ रन बनाए।

त्यसपछि आएका कुशल मल्लले २२ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाएर आउट हुँदा नेपाल ४१ ओभरमा २०६/७ को अवस्थामा थियो।

त्यसपछि तल्लो क्रममा रासिद खान र कमल सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल २५० पार गराए। ४९ बलमा रासिद र कमलले ७० रनको साझेदारी गरेका थिए।

५० औं ओभरमा आउट हुनुअघि कमलले २६ बल खेल्दै ५ चौका र २ छक्कासहित ४१ रन बनाए। सोही ओभरमा आउट भएका रासिदले ४४ बलमा ४४ रन बनाउने क्रममा ५ चौका र १ छक्का प्रहार गरे।

सागर ढकालले २ रन बनाउँदा सूर्य तामाङ शून्य रनमा अभिजित रहे।

युएईका लागि अक्षा ताहिर र संचित शर्माले समान ३/३ विकेट लिए। केपी मेयाप्पनले २ र रिशभ मुखर्जीले १ विकेट लिएका थिए।

समूह ‘बि’ मा रहेका नेपाल र युएई दुवै टिम लगातार दुई खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिसकेका छन्।

यो समूहबाट श्रीलंका र बंगलादेशले अन्तिम चारमा स्थान बनाउँदा समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित मिति: : 2019-09-10 14:02:03

प्रतिकृया दिनुहोस्