२०७०, चैत ७।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरूका लागि अविष्मरणीय दिन थियो, त्यो ।
किनकि, त्यो दिन उनीहरू बंगलादेशमा आयोजित आईसीसी वल्र्ड ट्वान्टी–२० प्रतियोगितामा शानदार प्रदर्शन गरेर नेपाल फर्कदै थिए।
नेपालले प्रतियोगिता नै जितेको त थिएन, तर समूह चरणका खेलमा हङकङ र अफगानिस्तान जस्ता बलिया राष्ट्रलाई हराउन सफल भएको थियो।
बंगलादेशसँग नहारेको भए नेपाल अझ माथि जान सक्थ्यो। र, भारत र अष्ट्रेलियाजस्ता धुरन्धर विश्व क्रिकेट च्याम्पियनहरूसँग नेपालले प्रतिष्पर्धा गरेको हेर्न पाउने नेपाली दर्शकको सपना पनि पूरा हुन्थ्यो।
भिडियो रिपोर्ट
इतिहासमै पहिलोचोटि ट्वान्टी–२० विश्वकपमा सहभागी हुँदा पनि नेपाल नयाँ र अनुभवहीन टिमजस्तो देखिएको थिएन। नेपालको प्रदर्शनको सर्वत्र प्रशंसा भएको थियो।
यसैले त्यो दिन आफ्ना क्रिकेट खेलाडीहरूको स्वागत गर्न हजारौं नेपाली दर्शकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूको हात–हातमा फूल, राष्ट्रिय झण्डा र समर्थनका ब्यानरहरू थिए। त्यो दिन सोमपाल कामीका लागि त झन् विशेष थियो। किनकि, उनी अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यू गरी नेपाल फर्किदै थिए।
बंगलादेशको चितगोङमा भएको हङकङविरुद्धको खेलमा उनले डेब्यूमात्रै गरेका थिएनन्, दुई विकेट पनि लिएका थिए। उनको ४.३३ इकोनोमी अन्य अनुभवी नेपाली बलरहरूको भन्दा पनि प्रभावशाली थियो। उनले ३ ओभरमा १३ रनमात्रै खर्चेर हङकङका कप्तान जेजे अट्किन्सन र नजिब अमरको विकेट लिएका थिए।
काठमाडौंमा ओर्लदै गर्दा उनलाई कतिबेला विमानस्थलबाहिर निस्कूँ र घर पुगेर आफन्तीहरूसँग आफ्नो अनुभव बाँडू जस्तो भएको थियो। तर, अध्यागमनमा खटिएका एक इन्सपेक्टरले उनलाई रोके र चिनापर्ची गर्न थाले।
सोमपालका साथी खेलाडीहरू फटाफट अघि बढे, तर उनलाई भने इन्सपेक्टरले अलि पर कुनामा लगे। इन्स्पेक्टरको अनुहारमा माँया, सद्भाव र अलिकति दयाको पनि मिश्रण थियो।
इन्सपेक्टरले सुरुमा त सोमपाललाई बधाई दिए, तर त्यसपछि भने बडो कौतूहलका साथ एउटा प्रश्न सोधे – ‘साँच्चि, बाबुले किन आफ्नो थर कामी लेखेको?’
सोमपाल अक्क न बक्क परे। उनलाई के भनूँ–भनूँ भयो। उनको मुखबाट एउटा प्रतिप्रश्न खस्यो – ‘किन र सर?’