काठमाडौं।हाउजिङ कम्पनी ग्रिनहिल सिटी प्रालिले काठमाडौंको मूलपानीमा निर्माण गरेको घर मंगलबार राति भत्किएपछि निर्माण कम्पनीको क्षमता र गाम्भीर्यमाथि उपभोक्ताहरूले प्रश्न उठाएका छन्।
‘ग्रिनहिल सिटी आवास निर्माण कम्पनीको चरम लापरबाही हो यो, मानिसले जीवनभर बस्नुपर्ने र सुरक्षित भएको अनुभव गर्न पाउनुपर्ने घर पिँध नभएको लोटाजस्तो पिल्टिक्क ढल्यो।’ –स्थानीय विष्णु गुरागाईंले नेपाल समाचारपत्रसँग गुनासो पोख्नुभयो।
‘स्थलगत अध्ययन गर्दा घरका लागि बनेको सपोर्टिङ वाल ढलेपछि घर पल्टिएको देखिन्छ। भवन बनाउनुपूर्व ढुङ्गाको मजबुत पर्खाल लगाइएको भए पुरिएको माटैसहित घर बग्ने थिएन।’ –गुरागाईंले भन्नुभयो।
जसरीतसरी निर्माण गर्ने अनि सोझासाझाको आँखामा छारो हाल्ने नियतका कारण भवन भत्किएको भन्दै अर्का स्थानीय स्थानीय लक्ष्मीप्रसाद कँडेलको टिप्पणी थियो– ‘पहिरोनजिकका स्थानीयका नौवटा भवन अहिले पनि जोखिमा छन्, भत्किएको घरसंँगैको कम्पनीको तेस्रो घर पनि ठूलो वर्षा भएमा भत्कने जोखिममा देखिन्छ।’
ग्रिनहिल सिटी आवास निर्माण कम्पनी हो। यसले घर बनाएर सेवाग्राहीलाई हस्तान्तरण गर्छ। तर, बिना कुनै प्राकृतिक प्रकोप निर्माणाधीन भवन भत्किएपछि भवन खरिद गरी बसोबास गरेका दुई सय परिवारको मनमा समेत चिसो पसेको छ।
चार वर्षअघि ग्रिनहिल सिटी हाउजिङ कम्पनीले मूलपानीमा निर्माण गरेको घर खरिद गरेका विष्णुराज पौडेल ‘किरण’ अहिले ग्रिनहिल सिटी उपभोक्ता समाजका अध्यक्ष हुनुहुन्छ। समाज हाउजिङ कम्पनीसँग आधारभूत सुरक्षाका लागि संघर्ष गरिरहेको छ। हालसालै भत्किएको भवनको हवाला दिँदै पौडेल भन्नुहुन्छ– ‘अब यो घरको कुरा मात्र रहेन।
सबै घरको माटो परीक्षण गरिनुपर्छ। कति मिटर तलसम्म जानुपर्ने हो, इन्जिनियरले भनेबमोजिम गर्नुपर्छ।’ उहाँका अनुसार मजबुत पर्खाल निर्माण नगरी घर बनाइएकाले स्थानीयको ९–१० वटा घर अहिले पनि जोखिमा छन्।
उहाँका अनुसार कतिपय स्थानीयको घर पहिरो गएको स्थानबाट ६–७ फिटको दूरीमा मात्र रहेकाले बढी असुरक्षामा छन्, त्यहाँ केही भए हाउजिङ कम्पनीले जिम्मेवारी लिनुपर्छ।