यतिबेला नेपालका संगीतप्रेमी माझ झुप्री भण्डारी र भारतका संगीतप्रेमी माझ रानु मण्डल चर्चामा छन्। अछामकी दृष्टिविहीन झुप्रीको कहानी र प्रतिभा काठमान्डुसम्म आइपुगेको छ। ‘टेलिभिजन रियालिटी सो, भ्वाइस अफ नेपाल’मा मौलिक गीत गाएसँगै उनले आफ्नो गायकीको प्रशंसा र ‘दृष्टिविहीन हुनु’को दया वा संवेदना दुवै बटुलिरहेकी छन्।
त्यस्तै, भारतको एक रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानु अकस्मात ‘म्युजिकल रियालिटी सो’ हुँदै बलिउडसम्म पुगेकी छन्। उनले लता मंगेशकरको स्वर रहेको ‘एक प्यार की नगमा’ बोलको गीत गाइरहेको भिडियो कैद गरी कसैले सामाजिक सञ्जालमा अपलोड गरेसँगै उनको चर्चा चुलियो। अन्ततः उनले बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियासँग गीत गाउने अवसर पाइन्, त्यसपछि उनको ‘डिमान्ड’ बेग्लै छ।
यी दुवैको आ–आफ्नो देशमा चर्चा हुनु (रानुको चर्चा नेपालमा पनि छ) निश्चय नै यो सकारात्मक समाचार हो, यसले मानिसहरूमा मानवीय संवेदना जगाउनुका साथै प्रतिभा कदरको भावना प्रवाह गरेको छ। यो चर्चाको पिँधमा भने यिनीहरू दुवैको दुःखपीडा र गरिबीको कहानी छ, जो मिडियामा बिक्दो छ।
यी दुवै पात्रका केही विशेषता मिल्छन्। दुवै महिला हुन् र यिनीहरूमा आ–आफ्नै शैलीको गायन प्रतिभा छ। यी दुवैले आ–आफ्नो समाज र राज्यमा भोगेको पीडा, उत्पीडन, विभेदको प्रकृति पनि मिल्दो छ। दृष्टिविहीन भएका कारण झुप्री र गरिबीका कारण रानु समाजको अमानवीयकरण अर्थात् ‘डिह्युमनाइजेसन’को चपेटामा परे। बहुसंख्यकको समाज वा राज्यमा वर्ग, जात, धर्म–संस्कृति, क्षेत्र, लिंग, रूप–रंग, अपांगता, अल्पसंख्यक आदिका आधारमा कुनै व्यक्ति वा समुदायलाई पूर्ण मानव ठानिदैन। ‘अपूर्ण मानव’को व्यवहार अर्थात् अमानवीयकरण मात्रै गरिँदैन, समाजका अन्य मानवले पाउँदै आएको सामाजिक सुविधादेखि उसलाई वञ्चित गर्न जानिदो वा नजानिदो ढंगले भूमिका खेलिन्छ। जसकारण समाजमा कतिपय व्यक्ति वा समुदाय उत्पीडनमा पर्छन्, योसँगै उनीहरूमा भएको क्षमता र प्रतिभाले प्रस्फुटन हुने आधार र अवसर पाउँदैन।