मर्ने कसैलाई रहर हुँदैन,
तर नमरेको प्रहर हुँदैन,
भागेर जाऊँ, कुन ठाउँ जाऊँ ?
मान्छे नमर्ने शसहर हुँदैन ...।
यो गीत गाउँदै टोलाइरहेकी थिइन्, १२ वर्षीया सीता विक (नाम परिवर्तन) । रहरले गायकी होइनन् उनले यो गीत । यो गीतसँग उनको जीवन मिल्छ । त्यसैले उनी यो गीत गाउँछिन्, गाइरहन्छिन् ।
हो, मर्ने रहर नहुँदा–नहुँदै पनि उनका अभिभावकको मृत्यु भयो । सीता जन्मनेबित्तिकै बुबाले संसार छाडे । त्यसको दुई वर्षपछि आमाको मृत्यु भयो । बाल्यकालमै उनी बेसहारा भइन् ।
सीता टुहुरी मात्रै भइनन्, उनलाई जिन्दगीमा कहिल्यै बिसेक नहुने रोग लागेको छ । जन्मँदै एचआईभी संक्रमित हुन् उनी । बा–आमाको रोग उनीमा पनि सरेछ ।
जब बुझ्ने भइन्, उनलाई आफू पलपल मरेको अनुभूत हुन थालेछ । र, गाउन थालिछन्, ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन...।’
यतिबेला सीता कीर्तिपुरस्थित भत्केको पाटीमा रहेको एउटा सानो टहरामा आश्रय लिइरहेकी छिन् । एचआईभी पोजिटिभ भएको थाहा पाएपछि परिवार र समाजले उनलाई तिरस्कार गर्न थाल्यो । अति हेलामा बाँच्न बाध्य थिइन् उनी । त्यसैबीचमा उनले बेबी लाइभ होम नामक एक गैरसरकारी संस्थाको सहारा पाइन् ।
समाजबाट तिरस्कृत र बेसहारा उनलाई संस्थाका सदस्यले उद्धार गरेर काठमाडौं ल्याएका हुन् । यतिबेला उनी उपचार गराउँदै अध्ययन पनि गरिरहेकी छिन् ।
सीता मात्रै होइन, उनीजस्ता देशका विभिन्न स्थानबाट ल्याइएका थुप्रै एचआईभी संक्रमित बालबालिकालाई बेबीहोमले आश्रय दिएको छ ।
संस्थाको सहयोगमा बालबालिकालाई औषधि उपचार, खानपान, बसोबास र शिक्षाको व्यवस्था गरिएको छ । यी बालबालिकाहरू शिशु कक्षादेखि कक्षा ८ कक्षासम्म पढिरहेका छन् । तर ८ कक्षापछि कहाँ, कसरी पढ्ने ? उनीहरूमा चिन्ता छ । किनकि, अरु विद्यालयले सजिलै उनीहरूको भर्ना लिँदैनन् ।
नेपाल सरकारले सबैका लागि शिक्षा भन्ने नीति लिएको छ । नीतिलाई थप स्पष्ट पार्दै ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस्’ भनेर उल्लेख गरेको छ । तर, एचआईभी पोजिटिभ भएकै कारण विद्यालयमा भर्नासमेत नलिइदिएपछि यी बालबालिकाहरू अब के गर्ने भन्ने चिन्तामा छन् ।
अहिले कक्षा ७ को परीक्षा दिएर अब कक्षा ८ मा पढ्ने तयारी गरिरहेकी १४ वर्षीया अञ्जु चन्द (नाम परिवर्तन) पनि एचआईभी पोजिटिभ बालिका हुन् । पढ्नमा ज्यादै तेज उनी भविष्यमा समाज सेवा गर्न चाहन्छिन् ।
उनले पनि एचआईभीकै कारण आफ्ना बुबा र आमा गुमाएकी छिन् । बैतडीबाट उद्धार गरी ल्याइएकी उनी आफूलाई आश्रय दिने संस्थाका पदाधिकारीहरूलाई ड्याडी र ममी भन्छिन् । पढेर उनी पनि ड्याडी ममीजस्तै बन्न चाहन्छिन् । तर कसरी ? उनी अन्योलमा छिन् ।
उनीहरूका पीडा अनेक छन् । ‘एड्स लागेको भन्दै धेरैले डेरा दिनै मान्दैनन् भने नभनी बसे पनि थाहा पाएको दिन निकालिदिन्छन्,’ उनले भनिन् ।
बेबीहोममा विलक्षण क्षमता भएका थुप्रै विद्यार्थी छन् । कोही डाक्टर त कोही इन्जिनियर बन्न चाहन्छन् । अब्बल हुँदाहुँदै पनि उनीहरू मानसिक रूपमा कमजोर छन् ।
शिक्षानीतिले सबैलाई समान शिक्षा भने पनि बेबीहोमका विद्यार्थीले एड्स भएकै कारण अन्य विद्यालयमा भर्नासमेत पाएका छैनन्, जुन ज्यादै लज्जित बनाउने विषय हो ।