अमर न्यौपाने किशोर–किशोरीलाई किताबका कुरा पढाउँथे। उनले पढाउने कुरा उनका थिएनन्। उनी धाराको पाइप थिए, पानी अर्कै स्रोतको थियो। अर्थात, उनले पढाउने कुरा कसैद्वारा लेखिएका थिए।
अमरले विद्यार्थीलाई किताबका कुरा सिकाए। बदलामा उनले उनीहरुसँग जीवनका कुरा सिक्न पाए। उनीहरुले सिकाउँछु नभनेरै, अमरले सिक्छु नभनेरै।
अमरलाई लाग्छ किशोर–किशोरीको जीवन ‘अर्गानिक’ हुन्छ। त्यहाँ विषादि वा हानिकारक चिज हालिसकिएको हुँदैन। अर्थात, काँचा जीवनका अनुभवहरु पनि काँचा हुन्छन्। तर, बुद्धिले नजितेका अनुभवहरु सत्य हुन्छन्।
जब बुद्धिले जित्दै जान्छ तब मानिस जीवनमा आफूलाई सभ्य, राम्रो, बौद्धिक, सम्पन्न देखाउन खोज्छ। तर, किशोर–किशोरीको उमेर तरल हुन्छ। पानीजस्तै।
अमरले आफ्ना विद्यार्थीलाई पढाउँदा यी कुरा जान्ने–बुझ्ने अवसर पाए। विद्यार्थीका कथा धेरै सुनेर आफू कम बोले। उनीहरुको कथाले अमरको मनमा एउटा तरंग ल्यायो।
उनले आफ्ना विद्यार्थीका अनुभव र कथालाई डायरीमा टिपेर राख्न थाले। आफूले दिने गृहकार्यमा किशोरावस्था र बाल्यकालका अनुभव लेख्न लगाए। यसरी विद्यार्थी विशेषगरी किशोरीका अनुभवले अमरलाई रोमाञ्चित बनाउँदै लग्यो। र, रोपियो ‘गुलाबी उमेर’ को बीउ।
शीर्षक जुराउन दुई वर्ष
अमरले आफ्नो १२ वर्षे अध्यापन अनुभवलाई समेटेर किशोरीका कथा लेख्ने निधो गरे। डायरीमा टिपोट गरेका कुरालाई कथाको रुप दिन थाले। २०६७ सालको कुरा हो यो।
उनले नियमितरुपमा त लेखेनन् तर अलिअलि गर्दै कथाले उपन्यासको रुप लिन झन्डै एक दशक लाग्यो। लेख्दा–लेख्दै उनले उपन्यासको नाम के राख्ने भन्ने पनि सोचिरहेका थिए।
‘मलाई नाम जुराउनै दुई वर्ष लाग्यो’, उनी भन्छन्, ‘१३ वर्षदेखि १९ वर्ष उमेरका किशोरीको कथालाई शीर्षक दिन मलाई निकै गाह्रो भयो।’
पूर्वीय शास्त्रमा जीवनलाई चार भागमा विभाजन गरिएको छ। जन्मदेखि २५ वर्षसम्मको उमेरलाई ब्रह्मचर्य आश्रम, २५–५० वर्षसम्म गृहस्थ आश्रम, ५०–७५ वर्षसम्म वानप्रस्थ आश्रम र त्यसपछिको जीवनलाई सन्यास आश्रम।
अहिले यो सम्भव थिएन। त्यसैले अमरलाई केही नयाँ सोच्नु थियो। त्यसैले उमेरको विभाजन खोज्दै विभिन्न संस्कृतसम्बन्धी किताबहरु पढे, संस्कृतका विद्वानलाई पनि सोधे। तर, पार लागेन।