झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका भक्तशेर कार्की दुई बर्षदेखि एक्लो जीवन बिताइरहेका छन् । ७९ वर्षीय कार्कीका आफन्त तेस्रो देशतिर लागिसके, श्रीमतीले संसारै छाडेर गइसकिन् ।
भुटानबाट खेदिएर तीन दशकदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका कार्की भन्छन्, ‘छोराबुहारी अमेरिका पुगे, श्रीमतीले संसार छाडिन् । सके पकाएर खान्छु, नसके भोकै रात कटाउँछु, सासको त्यान्द्रोमा अल्झिएर बाँचिरहेको छु । मोरङको पथरी-शनिश्चरे शिविरमा रहेकी ७१ वर्षीया अभिमाया राईको दैनिकी झनै पीडादायी छ । उनका साथमा एक अशक्त छोरा छन् । आफैंलाई स्याहार चाहिने उमेरकी अभिमायाले छोराको स्याहार गर्नु परेको छ ।
छोरा र आफ्नो हातमुख जोर्न बूढीआमाले शिविरभित्र सानो तरकारी पसल चलाएकी छिन् ।
भक्तशेर र अभिमायाको जस्तै पूर्वी नेपालका शिविरमा रहल पहल रुपमा शरणार्थी जीवन बिताइरहेका धेरै वृद्धवृद्धाको समस्या उस्तै छ । परिवार र आफन्तबाट एक्लिएर शिविरमा बस्दै आएका उनीहरु अभाव, बुढ्यौली र एक्लोपनको शिकार बनिरहेका छन् । बिरामी पर्दा औषधी खुवाउने आफन्त छैनन् ।
पथरी शनिश्चरे भुटानी शरणार्थी शिविर महिला मञ्चकी कार्यक्रम संयोजक सनमति सुब्बाका अनुसार उनीहरु विभिन्न कारणले पुनर्बासमा जानबाट छुटेका शरणार्थीहरु हुन् ।
पूर्वी नेपालका विभिन्न सातवटा शिविरमा बस्दै आएका शरणार्थीमध्ये अहिले एक लाख १३ हजारभन्दा बढी शरणार्थीहरु पुनःस्थापन कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न मुलुक पुगिसकेका छन् ।
नेपालमा बाँकी रहेका ६ हजार ६३४ शरणार्थीमध्ये ७३५ जना अपांगता भएका, आफन्त नभएका, अशक्त एवं वृद्धवृद्धाहरु झापा र मोरङका शिविरमै छन् । उनीहरूका कोही आफन्त भुटानमै छन् भने कतिपय अमेरिका र युरोपतिर छरिएका छन् ।
सातवटा शरणार्थी शिविरहरुमध्ये ५ वटा खाली भइसकेका छन् । अहिले झापास्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविर गरी दुई वटामा मात्र शरणर्थीहरुलाई राखिएको छ । पथरी शनिश्चरे शिविरमा १५ सयको संख्यामा शरणार्थी बस्दै आएका छन् भने बाँकी बेलडाँगी शिविरमा छन् ।