जब उनले आफू नेपालकै अग्लो व्यक्ति भएको चाल पाए

राजन अधिकारी जन्मिँदै अन्य बालबालिकाभन्दा अग्लो कदका थिए। उमेर बढ्दै जाँदा उनी असामान्य रुपमा अग्लिँदै गए। परिवारमा चिन्ता थपियो। कतै कुनै रोगका कारण त होइन भन्ने।

शंका मेट्न राजनका बुबाले उनलाई धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए। रिपार्ट सामान्य आएपछि यो रोग रहेनछ भन्ने ढुक्क भयो।

तर, उनको उचाइ बढ्ने क्रम रोकिएन। कक्षा ९–१० मा पढ्दा नै उनको उनी ६ फिट ५ इन्च पुगे। अग्लो भएकै कारण साथीहरु उनीसँग हिँड्न असहज मान्थे। साथीहरु आफूसँग हिँड्न नमामन्दा उनलाई एकदमै नरमाइलो लाग्थ्यो। समय बित्दै गयो। 

२०५१–५२ सालतिरको कुरा हो। राजन बुबाको उपचारका लागि इटहरीकै एक अस्पताल पुगेका थिए। भित्र छिर्दा ढोकामा उनको टाउको ठोक्कियो। उनी लडे। चोट पनि लाग्यो। मान्छेको भिड जम्मा भयो। उनीहरु चकित पर्दै राजनलाई हेर्न थाले।

उनलाई उपचारका लागि डाक्टरकोमा लगियो। डाक्टर उनलाई देखेपछि छक्क परे। उनको बारेमा सोधीखोजी गर्न थाले। डाक्टरले नै मिडियालाई बोलाएर उनको परिचय गराए। त्यसपछि राजन उचाइकै कारण पहिलो पटक मिडियामा आए। सर्बत्र उनको चर्चा सुरु भयो।

पहिलो पटक मिडियामा आएको पाँच वर्षपछि बल्ल राजनले आफू नेपालकै अग्लो व्यक्ति भएको चाल पाए। हिमाली सांस्कृतिक समूहले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी देशभरबाट अग्ला व्यक्तिलाई निम्त्याएको थियो। ७ फिट ३ इन्च उचाई भएका राजन नेपालकै अग्ला व्यक्ति बने। 

सोही वर्ष आफ्नो उचाईलाई लिएर उनले वीर अस्पतालमा डा. उपेन्द्र देवकोटासँग परामर्श लिएका थिए। देवकोटाले ग्रोथ हर्मोनको अप्रेसन गर्न सुझाब दिए। त्यसपछि उनको उचाई बढेन।

‘त्यतिबेला पाकिस्तानबाट ७.४ फिट उचाई भएका व्यक्ति विश्वकै अग्ला थिए। यदि मेरो अपरेसन नभएको भए म अझै ३ ईन्च बढ्दो रहेछु र उसलाई जित्ने रहेछु।’

उनी हाल उचाई धेरै भएका व्यक्तिमध्ये विश्वकै (टर्की ८.२ र चीन ७.८ फिट) पछि तेस्रो स्थानमा पर्छन्।

 

प्रकाशित मिति: : 2019-09-05 19:43:38

प्रतिकृया दिनुहोस्