बुकर प्राइज जितेको किताब 'दि लुमनरिज्' लाई टेलिभिजन ड्रामा बनाउने क्रममा आफ्नो अनुभव बिबिसीसँग सेयर गर्दै लेखक इलेनोर काटोनले भनेका छन्, 'टेलिभिजनको लागि लेख्नु नयाँ वाद्यवादन सिक्नुजस्तै भएको छ। त्यसले निकाल्ने धुन त प्रायः उस्तै-उस्तै हो तर बाँकी सबै कुरा पूरै फरक छन्।'
सर्वनाम थिएटरमा मञ्चन गरिएको अशेष मल्लद्वारा निर्देशित 'अर्को कुरुक्षेत्र' नाटक कथाबाटै बनेको हो। तर यसले बजाएको धुन स्पष्ट छैन। कतै कथाको ताल बज्छ त कतै नाटकको। उत्कृष्ट नाटक बन्ने ठाउँ भएर पनि यसले केही गल्ती गरेको छ जुन नेपालमा मञ्चन भएका अरू केही नाटकहरूले गरिरहेका छन्।
पहिलो, दृश्यमा सबल भए पनि संवाद कमजोर। स्टेजमा स्थापित सुन्दर दृश्यहरूलाई त्यत्तिकै नछोडिदिएर तिनकै बारेमा व्याख्या थाल्दा नाटकको खुट्टा अल्झिन्छ।
दोस्रो, कथाबाट नाट्य रूपान्तरण गर्दा कथामा भएका सबै थोक 'डायलग'मा भन्ने लोभ।
र तेस्रो, पात्रहरूको सपाट संवाद। आवाज हरेक दृश्य एउटै छ। दृश्यअनुसार प्रकाश, सेट र दृश्य फेरिन्छ तर त्यसले पात्रको बोली फेर्दैन। दृश्यको भाव र गहनताअनुसार त्यसमा अझै स्पष्ट काम गर्ने ठाउँ यी कमजोरीले नाटकलाई अनावश्यक लम्ब्याएका छन्।
महिला पात्रलाई डोरीले बाँधिएको दृश्यको कुरा गरौं। लामो दृश्यमा उनको संघर्ष देखाइसकेपछि 'कसले मलाई डोरीले बाँध्यो?' भन्ने डायलग आउँछ जुन जरूरी थिएन।
यस्तै महिला पात्र लामो समयदेखि इनारको गहिराइमा भएको कुरा उनको शरीरले बताइसक्छ। असहजता देखाउने हाउभाउ र निस्किने प्रयासलाई माइकको माध्यमबाट सुन्दर ढङ्गले देखाइसकेपछि उनी भन्छिन् 'मलाई यो गहिरो इनारमा कसले राख्यो?'
अर्को दृश्यमा महिलाको कथा लेखेको दाबी गर्ने दस्तावेज बोकेर आएको लेखक भन्छ 'यो दस्तावेज यत्तिकै मेटिन दिन्नँ।' जबकि उसले त्यसलाई मेट्न नदिएको कुरा धेरैपल्ट नाटकको दृश्यमा तथा अन्य डायलगमा आइसकेको छ।
नाटक आफैंले स्थापित गरेका सुन्दर दृश्य र कथालाई नाटकमै व्याख्या गर्न खोजेर आफैंले कमजोर बनाएको छ। नाटकको अभिव्यक्तिको माध्यम डायलग मात्र हो भन्ने दुविधा कुरुक्षेत्रमा 'अर्को कुरुक्षेत्र' नाटक अभिमन्यु जसरी फसेको छ। सुन्दर तर लामो लुगा लगाउँदा खुट्टा टेकिए झैं नाटक धर्मराउँछ। दृश्यको दर्शनलाई विश्वास नगरेर संवादको दर्शनमा निर्देशक अल्झिएको देखिन्छ।