वसन्तपुरमा रहेको 'झ्व:छेँ' लाई नेपालको पहिलो 'पर्यटकीय हब' भन्दा फरक नपर्ला।
सन् १९६० तिरको कुरा हो। बिहानदेखि मध्यरातसम्म झ्व: छेँका सडक गल्लीमा पर्यटकहरु हुन्थे। नेपालीभन्दा विदेशीको उपस्थिति धेरै हुन्थ्यो। प्रायजसोका हातमा गाँजा हुन्थ्यो। केही विदेशी'एप्पल पाइ' पाउने पसलमा भेटिन्थे। खुल्ला स्वतन्त्रताको परिचयक थियो यो ठाउँ।
१९५० सम्म त नेपाल विश्वका लागि बन्द नै थियो। तर, जब नेपाल खुल्ला भयो तब झ्व:छेंले नै काठमाडौंलाई विश्वमाझ चिनायो। त्यससमय धेरैजसो पर्यटक प्रेम र स्वतन्त्रताको खोजी गर्दै 'हिप्पी' का रुपमा नेपाल भित्रिएका थिए।
हिप्पी ट्रेल :
सन् १९६० मा हिप्पी युगको सुरुवात भयो। भियतनाममाथि अमेरिकाले थालेको आक्रमणको विरोधमा हिप्पीहरुको जन्म भयो। उनीहरु युरोपियन पूँजीवादविरोधी आन्दोलनका समर्थक थिए। युद्ध लड्नकालागि सेनामा अनिवार्य भर्ना हुनुपर्ने घोषणा गरिएको थियो। तर, हिप्पीहरुले युद्ध नभइ शान्ति र भाइचाराको सन्देश दिन आफ्नो जन्मभूमि त्यागेर अनिश्चित यात्रामा निस्किएका थिए।
युरोपको पूँजीवादी शैली त्यागेर हिप्पीहरु युगोस्लाभिया, ग्रीस आइस्ल्यान्ड, टर्की इरान हुँदै अफगानिस्तान पुगे। हिप्पीहरुले आफ्नो लागि छुट्टै 'हिप्पी ट्रेल' बनाए। पछि यी ट्रेलमा बस समेत संचालन भएको थियो। अफगानिस्तानबाट पाकिस्तान हुँदै भारतको गोवा, दिल्ली पुगेका हिप्पीहरु अन्तत: विश्वको लागि भर्खरै खुलेको नेपाल पनि आइपुगे।