गोरखा कुमाल परिवारको कान्छो छोरा भीमबहादुरलाई पहिलेदेखि नै आर्मी बन्ने रुचि थियो। आफ्नो रुचि पूरा गर्दै २०६१ सालमा उनी सेनामा भर्ती भए। तर, त्यसको एक वर्षपछि जुन घटना भयो त्यसले उनको जिन्दगी नै बदल्यो।
मुलुकमा माओवादी द्वन्द्व उत्कृर्षमा थियो। जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी लिदैँ सेना ब्यारेकबाट बाहिर निस्केको थियो। बेला-बेला सेना र माओवादी आमने सामने हुन्थे। यति मारिए, उति मारिए भन्ने खबर भीमबहादुरले पनि सुन्दै आएका थिए।
सेनामा भर्ती भएको दोस्रो वर्ष मै भीमबहादुर पनि त्यस्तै घटनाको समाचार बने। भोजपुरमा १४ वर्षअघिको त्यो अँध्यारो दिन सम्झदा अहिले पनि उनका आखाँ रसाउँछन्।
‘हामी दिउँसो गस्तीमा थियौं। एक्कासि विद्युतीय धरापमा पर्यौ। म तत्काल बेहोस भएछु। आखाँ खुल्दा अस्पतालमा शरीर पूर्ण क्षतविक्षतको अवस्थामा थिएँ। एउटा खुट्टा नै गुमेको थियो,’ दबिएको स्वरमा उनीले विगत स्मरण गरे।
घाइते उनी मात्रै थिएनन्। गस्तीमा भएका अन्य सहकर्मीहरुको अवस्था पनि उस्तै थियो। जे हुनु भइगयो। चिन्ता मानेर केही हुने अवस्था थिएन। सेनाको जागिर थियो। सेनाको अस्पतालमा ६ महिना बिताएका उनी भन्छन्, ‘म देशको सिपाही, मलाई देशले पाल्छ भनेर चित्त बुझाएँ। परिवारलाई सम्झाएँ।’
सद्दे हुँदा गाउँ नजिकैको दरौदी खोला उनको पौडी स्थल थियो। साथीभाईहरुसँग दिनभर नदीमा पौडिएको सम्झना अझै उनले भुलेका छैनन्। गाउँ फर्किंदा अझै पनि दरौदीमा हाम नफाली उनी फर्किदैँनन्।
‘खुट्टा गुमाएपछि पनि मैले सक्छु कि सक्दिनँ होला भनेर खेलेँ। त्यही नदीमा खेलेपछि म पौडी खेल्न सक्ने रहेछु भन्ने आत्मविश्वास बढ्यो,’ उनले पारा पौडीमा लाग्नुको कारण खोले, ‘त्यही आत्मविश्वासले अहिलेसम्म राष्ट्रिय तथा अन्य गरी ७ वटा गेमहरु खेलिसकेँ। सबै प्रथम नै भएको छु।’