स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही दिनअघि भनेका थिए, 'डेंगी नियन्त्रण गर्न मुश्किल भयो, सेना परिचालन गर्नुपर्ने अवस्था आइसक्यो।'
देशको रक्षा गर्नुपर्ने सेनाले लामखुट्टे कसरी नियन्त्रण गर्लान् थाहा छैन। तर, हामीले केही उपाय अपनायौं भने डेंगी लामखुट्टेबाट सेनाले भन्दा प्रभावकारी रूपमा घरको रक्षा गर्न सक्छौं।
तपाईंहरू अलमलिनुभयो होला, सरकारले नै नियन्त्रण गर्न नसकेको डेंगी लामखुट्टे हामी कसरी रोक्न सक्छौं?
यसको निम्ति सबभन्दा पहिला डेंगी सार्ने लामखुट्टेबारे बुझौं।
डेंगी लामखुट्टेको आनीबानी र आकारप्रकार फरक हुन्छ। यो सामान्य लामखुट्टेजस्तो कान खाने गरी कराउँदैन। न राति आउँछ। यो त दिउँसो सक्रिय हुने जात हो, जतिबेला हामी पनि काममा सक्रिय हुन्छौं। यसको आकार यति सानो हुन्छ, झट्ट देखिँदा पनि देखिँदैन।
पहिलेका लामखुट्टे प्याट्ट मार्दा पिच्च रगत आउँथ्यो। यी लामखुट्टे मार्दा कालो, फुस्रो धूलोजस्तो देखिन्छ। यसले टोक्यो भने शरीर चिलाएजस्तो हुन्छ। मसिना बिबिरा आउँछन्। बिबिरासँगै चिलाइ फैलिन्छ।
यस्तै लामखुट्टेले ओसारेको डेंगी भाइरसबाट यो वर्ष तीन जनाको मृत्यु भइसकेको र झन्डै पाँच हजार बिरामी परेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लाल बताउँछन्।
यति भयानक लामखुट्टे रोक्न हामी के गर्न सक्छौं त? के यो हाम्रो हातमा छ?
खासमा यो लामखुट्टे रोक्ने हैसियत सरकार वा सेनासँग होइन, हामी जनतासँगै छ। जनताले चाहेनन् भने सरकारले 'संकटकाल' लागू गरे पनि डेंगी लामखुट्टे रोकिँदैन।
यो यस्तो लामखुट्टे हो, जुन हाम्रो घरभित्रै हुर्किन्छ र फैलिन्छ। काठमाडौंजस्तो सहरी क्षेत्रमा त यसको बास भनेकै हाम्रो सफासुग्घर घर हो।
हामीले सधैं सुन्दै आयौं, घरवरिपरि फोहोर पानी जम्यो भने लामखुट्टेको बिगबिगी बढ्छ। लामखुट्टे फैलिन्छ भनेर टोलका नाली सरसफाइ गरेको पनि हामीले देख्यौं। तर, त्यस्तो लामखुट्टे कसरी रोक्ने, जुन फोहोर नाली होइन, हामीले भान्सा वा कौसीमा जम्मा गरेको सफा पानीमा हुर्किन्छ, बढ्छ?
डेंगी लामखुट्टेको स्वभाव त्यस्तै हुन्छ। यसलाई फोहोर होइन, सफा पानी चाहिन्छ। सफा पानीमै यसले फुल पार्छ। बाल्टिन, ड्रमदेखि गमलामुनि रहेको प्लेट र मिनरल वाटरको बोतलजत्रो सानो भाँडोमा थोरै पानी छ भने पनि यसले आफ्नो घर बनाउन थालिहाल्छ।
'डेंगी लामखुट्टेको जीवनचक्र चलाउन प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यानदेखि छतमा जमेको पानी नै काफी हुन्छ,' डा. लाल भन्छन्, 'सफा पानीमा हुर्किने आनीबानीकै कारण यो लामखुट्टे काठमाडौंमा फैलिएको हो।'
काठमाडौंमा खानेपानीको विकराल समस्या छ। अधिकांश टोलमा बढीमा साताको एकचोटि पानी आउँछ। पानी जोहो गर्न बाटा, बाल्टिन, ड्रममा जम्मा नगरी धर छैन। पछिल्लो समय आकाशेपानी जम्मा गर्ने चलन पनि बढेकै छ। डेंगी लामखुट्टे यस्तै वातावरणमा फैलिन्छ।