कान्ति बाल अस्पताल, महाराजगञ्जको प्रशासनिक भवनको दोस्रो तलामा ओपीडी र मेडिकल वार्ड छ । वार्डबाहिर खाली ठाउँमा चकटी ओछ्याएर बिरामी कुरुवाहरु सुस्ताइरहेका छन् । हावामा फोहोरको कडा गन्ध छ ।
तेस्रो तलामा पुग्दा दुर्गन्ध हराउँछ, सफा भित्तालाई थरिथरिका पेण्टिङले सजाइएको छ । यो अंकोलोजी वार्ड हो ।
यही वार्डको ३२९ नम्बर वेडमा एक बालिका सुतिरहेकी छन् । छेउमा उनको आमा र हजुरआमा टोलाइरहेका छन् । त्यही बेला वार्डमा प्रवेश गरेका क्यान्सर रोग विशेषज्ञ विष्णुरथ गिरीलाई हजुरआमा उठेर सोध्छिन्, ‘डाक्टर सा’ब, अब के होला त हाम्रो नानीलाई ?’
डाक्टर पनि सोध्छन्, ‘घर सल्लाह गर्नुभयो त ?’
‘घरजग्गा बेचेर पनि उपचार त गराउनैपर्यो’, आमा जवाफ दिन्छिन्, ‘छोरीलाई जाती त हुन्छ नि, डाक्टर सा’ब ?’
डा. गिरीले यो खालको जटिल रक्त क्यान्सरको उपचार गर्दा सय जनामा ४०–४५ जनालाई ठीक भएको रेकर्ड रहेको बताए । उनले सम्झाउँदै भने, ‘नानी आठ महिनाको मात्र भएकाले अलिक खतरा त हुन्छ, तर पूरा उपचार र राम्रो पोषणबाट ठीक हुन सक्छिन् ।’
‘भनेपछि भगवान भरोसा… ’, निराश आमाको मुखबाट अधुरो वाक्य फुस्कियो ।
डा. गिरीका अनुसार गरीब परिवारका क्यान्सर रोगीहरुको अवस्था कति दारुण भने पूरा उपचार त परको कुरा, बायोप्सीसमेत गराउन सक्दैनन् । उनले एक महिनाअघि रौतहटको चन्द्रनिगाहपुरकी एक महिलाले बायोप्सी नगराई छोरीलाई घर फर्काएको सुनाए ।