गएको असार २ गते।
साँझको खाना पकाइसकेर होमवर्क गर्न बसेकी थिइन्, पूजा डोम। भोलिपल्ट कलेजमा बुझाउनुपर्ने नोट सक्ने हतारो थियो। लेख्दालेख्दै उनको डटपेनको मसी सकियो।
आमालाई 'पसल गएर आउँछु,' भनिन्, 'डटपेन किन्न।'
बेलुकीको ७ बज्नै लागेको थियो। साँझपख एक्लै पठाउन आमा ललिताको मनले मानेन। त्यसैले साँइली छोरी रीतालाई पनि सँगै पठाइन्। भनेकी थिइन्- ‘रात पर्न लागिसक्यो। बजार डुलेर नबस्नु। डर हुन्छ।‘
उनीहरु बस्ने घरदेखि पसल धेरै पर छैन। तर, पाकेको खाना सेलाइसक्दा पनि छोरीहरु फर्किएनन्। दुई दिदी बहिनी नै गएकाले बजारमै अलमल गर्दै होलान् भन्ने सोचिन् ललिताले। त्यसदिन उनलाई पनि सञ्चो थिएन। श्रीमान, छोरा र कान्छी छोरी भोकाएकाले आफैँ उठेर खाना दिइन्। पटकपटक बार्दलीमा निस्किएर दुई छोरीको बाटो हेर्दै पनि थिइन् उनी।
अचानक उनको फोनको घण्टी बज्यो। स्क्रिनमा देखियो अपरिचित नम्बर। फोन उठाइन्। तर, केही बोल्न नपाइ उतैबाट प्रश्न तेर्सियो- ‘तपाइँकी छोरी खोइ दिदी?’
‘बजार गएका छन्, कलम किन्न,’ उनले जवाफ फर्काइन्।
फेरि आफैंले सोधिन् - 'किन के भयो?’
फोनमा बोलेकी महिलाले उनको प्रश्नको जवाफ दिइनन्। झट्टै आम्दा अस्पताल, धुलाबारी आउन अह्राइन्।
कसैसँग झगडा गरे कि? या गाडीले पो ठक्कर दियो? मनमा अनेक तर्कना आए ललितामा।
अस्पताल जाने हतारोमा थिइन् उनी। साँइली छोरी रीता आइपुगिन्, एक्लै। पूजाले उनलाई साथीको घरमा छोडेर एक्लै बजार गइछिन्। रीताले निकैबेर कुर्दा पनि दिदी लिन नआएपछि घर फर्किएको बताइन्।
ललिता अस्पताल पुगिन्। छोरी पूजा रोइरहेकी थिइन्। वरपर एक हुल मानिस। छेउमै प्रहरी पनि। उनको मुटु ढक्क फुल्यो। केही सोच्न सकेकी थिइनन्। एक महिलाले सोधिन्- विष्णु खड्का को हो?
भनिन्- ‘दाइ हुन्। घरबेटी।’
‘विष्णु खड्काले तिम्रो छोरीलाई बर्बाद पार्यो। तिमीलाई केही थाहा छैन?’