उनको जन्म गरिब थारू परिवारमा भयो। तर, कसरी-कसरी उनले सानैबाट ठूलो सपना देख्न सिकिन्।
तुलसीपुर उपमहानगरपालिका-१३, फूलबारीस्थित गरिब र अशिक्षित परिवारमा जन्मेकी उनलाई पढ्ने खुब सोख थियो। उनी घरको सिकुवामा बसेर गाउँभरका केटाहरू स्कुल गएको हेरिरहन्थिन्। काँधमा झोला भिरेर स्कुल गएको देख्दा उनलाई पनि रहर लाग्थ्यो।
उनको परिवारमा भने छोरीको के कुरा, छोराहरू नै स्कुल जान्थेनन्। उनका एक दिदी र तीन दाजुभाइ छन्। कसैले पढेका छैनन्। एकदिन उनकी दिदी स्कुल जाँदा आमाले खुट्टा सुन्निने गरी कुटिछन्। यही डरले पढ्न जानै छाडिन्।
उनी भने डराइनन्।
कति साहसी भने, अम्मापुर विद्यालयमा एक्लै नाउँ लेखाउन गइन्।
मास्टरले नाउँ सोधे। उनलाई थाहा थिएन। उनी अलमलिइन्, 'खोइ, घरमा त सबै स्यानी भनेर बोलाउँछन्।'
मास्टरले त्यही नाउँ लेखिदिए।
त्यसै दिनबाट उनको नाउँ रह्यो- स्यानी चौधरी।
उनै स्यानीलाई भेट्न हामी तीजको पूर्वसन्ध्यामा तुलसीपुर उपमहानगरपालिका-६, डुम्रीगाउँस्थित ‘दिदीघर’ पुग्यौं।
टोल-टोलमा तीजको भाका गुञ्जिँदै थियो। नाचगान चल्दै थियो। दिदीघरमा भने कुनै चहलपहल थिएन। त्यहाँका बालबालिका सधैंझैं आफैंमा रमाइरहेका थिए।
४७ वर्षीया स्यानी तीन वर्षीया प्रिया विकलाई दूध चुसाइरहेकी थिइन्। निसन्तान चौधरीका दूध आउँदैनन्। प्रियालाई फुलाउन मात्र उनले यस्तो नाटक गरेकी हुन्। रगतको नाता नभए पनि प्रिया र स्यानीबीच प्रगाढ स्नेह छ। प्रिया स्यानीलाई एकछिन छाड्न मान्दिनन्। जतिखेरै उनको काखमा लडिबुडी गरिरहन्छिन्।
‘हामी खाना पनि एउटै थालमा खान्छौं,’ स्यानीले भनिन्।
उनले २०६१ सालमा ‘दिदीघर’ स्थापना गरेकी हुन्। त्यतिबेला १६ जना किशोरीलाई राखेर उच्चशिक्षा अध्ययनमा सघाइन्। यहाँ पढेकाहरू सरकारी कर्मचारीदेखि शिक्षक, इञ्जिनियर छन्। पछिल्लो तीन वर्षदेखि भने असहाय र अनाथ बालबालिकालाई आश्रय दिन थालेको उनी बताउँछिन्।