हाम्रो बैंकिङ प्रणाली असुरक्षित भएको हो कि भनेर यसै अनुमानका भरमा भन्न सकिने अवस्था छैन। समस्या कहाँ भएको भनेर विस्तृत अध्ययनपछि मात्रै थाहा हुन्छ। हामीलाई समस्या कहाँबाट भयो, कसरी समस्या देखियो भनेर थाहा नै नभएर बैंकिङ प्रणाली कमजोर छ भनेर भन्न मिल्दैन।
पछिल्ला घटनाको सन्दर्भमा कुन प्रक्रियाबाट र कसरी कारोबार भयो भनेर विस्तृत अध्ययन हुन बाँकी छ। त्यसरी भएका कारोबारमध्ये कार्ड सेवा दिने 'भिजा'ले कुन–कुन कारोबारलाई स्वीकृति (एप्रुभल) दियो भनेर आइसकेको छैन।
भिजाबाट भएका कारोबारको विस्तृत विवरण आइसकेपछि उसले स्वीकृति दिएका र नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले स्वीकृति दिएका कारोबारका विवरण दाँजेर हेरे पनि कहाँबाट कसरी र कसको कमजोरीले समस्या भयो भन्ने कुरा थाहा हुन्छ।
हामीले एटिएमबाट कसरी कारोबार हुन्छ भनेर पनि बुझ्नु जरुरी छ। नेपालका अधिकांश बैंकले आफ्नै एटिएमबाट पैसा झिक्दा आफ्नो स्विचमा नेप्समार्फत कम्युनिकेसन गर्छ। नेपालका अधिकांश बैंकले नेप्स प्रणाली प्रयोग गरिरहेका छन्।
जुन बैंकको एटिएम कार्ड छ सोही बैंकमा प्रयोग गर्दा एटिएम मेसिनमा एटिएम कार्ड राखिसकेपछि सबैभन्दा पहिला त्यो सूचना नेप्समा पठाउँछ। नेप्सले त्यो एटिएम बाहक व्यक्तिको खातामा रकम भएको नभएको विवरण सम्बन्धित बैंकको प्रणाली (स्विच)मा पठाउँछ। यसरी बैंकमा विवरण आइसकेपछि एटिएम मेसिनबाट रकम आउँछ।
अर्को प्रक्रिया भनेको नेप्ससँग आवद्ध नरहेका र आफ्नै स्विच प्रयोग गर्ने बैंकहरुबाट कसरी कारोबार हुन्छ भन्ने हो। त्यस्तो अवस्थामा एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा फरक तरिकाले कारोबार हुन्छ। नबिल बैंकको हकमा उसको आफ्नै स्विच छ। नबिल बैंक नेप्सको प्रणालीसँग आवद्ध छैन। उसको आफ्नै सञ्जाल छ।
नबिल बैंकको एटिएमले आफ्नो स्विचलाई कम्युनिकेसन गर्छ। अनि नबिल बैंकको स्विचले सिधै भिजासँग अमेरिकामा सञ्चार (कम्युनिकेसन) स्थापित गर्छ। त्यसपछि भिजाको स्विचले नेप्ससँग कम्युनिकेसन गर्छ।
नेप्सले फेरि सम्बन्धित बैंकको कोर बैंकिङ सिस्टम (सिबिएस)सँग कम्युनिकेसन गर्छ। खातामा पैसा भए/नभएकोबारे जानकारी माग्छ। त्यसपछि सिबिएसले फेरि नेप्सलाई जानकारी दिन्छ। नेप्सले भिजालाई भन्छ। भिजाले नबिल बैंकको स्विचलाई भन्छ र त्यसपछि उक्त बैंकले आफ्नो एटिएमलाई पैसा दिने/नदिने विषयमा सूचित गराउँछ।