दबाबमा कोलकाता बन्दरगाह : नेपाली निकाय र आयातकर्तासँग अन्तरसंवाद

तस्बिरः एजेन्सी

कोलकाता (भारत) । नेपालको समुद्रपार व्यापारमा भारतीय समुद्री बन्दरगाहबीच प्रतिस्पर्धा बढेसँगै भारतको कोलकाता बन्दरगाह व्यापार बचाउने दबाबमा परेको छ । तेस्रो मुलुकसँगको व्यापारमा आयातकर्ताले अन्य बन्दरगाह ताक्न थालेपछि यो बन्दरगाह बचाउका अनेक उपायमा तल्लीन देखिएको हो । 

कोलकाताको असहजता र लागत वृद्धिका कारण आयातकर्ता दोब्बर दूरीको विशाखापत्तनम् बन्दरगाहमा केन्द्रित हुन थालेका छन् । नजिकैको हल्दिया बन्दरगाहबाट कण्टेनर कार्गो ढुवानीमा पनि रुचि देखिएको छ । भारतकै उडिसा राज्यमा पर्ने धाम्रा र गुजरातको मुद्रा बन्दरगाह उपयोगमा सैद्धान्तिक सहमति भएपछि कोलकाता बन्दरगाह सञ्चालकले सरोकारका नेपाली निकाय र आयातकर्तासँग अन्तरसंवादलाई पनि  तीव्र तुल्याएको छ । 

कोलकाता पोर्ट ट्रस्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवलाई बन्दरगाहको स्थलगत अवलोकन गराएर सेवा र सुविधा विस्तारका बारेमा जानकारी गराएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटीडब्ल्यूसी)ले कोलकातामा निर्माण गरेको कन्टेनर फ्रेट स्टेशन (सीएफएस) उद्घाटनका लागि अघिल्लो हप्ता कोलकाता पुगेका मन्त्री यादवलाई पोर्ट ट्रस्टले निरीक्षणका लागि निम्त्याएको थियो । 

मन्त्री यादवले अहिले पनि नेपालका लागि तेस्रो मुलुकबाट आउने अधिकांश कार्गो कोलकाता बन्दरगाहकै भरमा रहेकाले आयातकर्ताका असजहता समाधानका लागि बन्दरगाहका अधिकारीहरूको ध्यानाकर्षण गराए । ‘कोलकाता असहज भएपछि आयातकर्ता अन्य बन्दरगाहतिर जान थालेका छन् । पारवहनको लागत वृद्धिको निराकरणमा बन्दरगाह व्यवस्थापनले सहजीकरण गर्नुपर्छ,’ उनले भने ।

पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले क्षेत्रफल विस्तारलाई दीर्घकालीन पूर्वाधार सुधारको योजनामा राखिएको बताए । कन्टेनरको चापको तुलनामा क्षेत्रफल कम भएको गुनासो बढेको सन्दर्भमा उनले कन्टेनर यार्डलाई थप २५ हजार वर्गमीटर विस्तार गर्न लागिएको जानकारी दिए । 

अहिले कोलकता बन्दरगाहले १ लाख वर्गमीटरमा वर्षको ६ लाख ५० हजार कन्टेनर ह्यान्डलिङ गरिरहेको छ । उपकरण अद्यावधिक गरेर यो क्षमता ८ लाख पुर्‍याउन सकिने पोर्ट ट्रस्टको दाबी छ । अबको ३ वर्षमा क्षमता १० लाख कन्टेनर ह्यान्डलिङयोग्य बनाउने तयारी बन्दरगाह प्रशासनको छ । 

गत फेब्रुअरीमा कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लागू भएयता कोलकाताबाट रेलमार्फत हुने ढुवानीमा ४० प्रतिशतसम्म लागत बढेको आयातकर्ता बताउँछन् । कोलकाताबाट हुने ढुवानीमा समय र खर्च बचाउने उद्देश्यले ईसीटीएस लगाइए पनि खर्च झन बढेको छ । कोलकाता बन्दरगाह भन्सारमा हुने प्रक्रिया हटाएर सिपिङ कम्पनीले सीधै गन्तव्यसम्म ढुवानी दिने प्रावधान लागू गरिएको थियो ।

ईसीटीएस कार्यान्वयन भएपछि रेलमार्फत हुने ढुवानी विशाखापत्तनम् बन्दरगाहतिर केन्द्रित हुन थालेको तथ्यांकले देखाउँछ । गत फेब्रुअरीमा कोलकाताबाट ३० ओटा रेल ¥याक वीरगञ्ज सुक्खा बन्दरगाहका लागि गएकोमा यो संख्या जुलाईसम्म आइपुग्दा १५ मा झरेको छ । जुलाई महीनामा विशाखापत्तनम्बाट ३५ ¥याक कण्टेनर वीरगञ्ज पुगेका छन् । फेबु्रअरीमा यो बन्दरगाहबाछ वीरगञ्जका लागि १६ ओटामात्र र्‍याक गएका थिए ।

प्रकाशित मिति: : 2019-09-01 07:44:50

प्रतिकृया दिनुहोस्