सुर्खेत/दैलेख - नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स शर्मिला थापा आफू चढेको स्कुटर साउन ११ गते कारकाँदो सडकमा छाडा चौपायासँग ठोक्किँदा गम्भीर घाइते भइन्। भारतको लखनऊमा उपचारपछि उनी अहिले स्वास्थ्यलाभ गरिरहेकी छिन्।
नेपालगन्ज उपमहानगरपालिकाका लागि छाडा चौपाया व्यवस्थापन मुख्य समस्या बनेको छ। छाडा चौपायाले दुर्घटना बढ्न थालेपछि साउन तेस्रो साता सरोकारवालाको बैठक बस्यो। भारत हुँदै भित्रिने चौपाया तत्कालका लागि वडा नम्बर २१ मा रहेको फुलटेग्रास्थित कान्जी हाउसमा राख्ने र यसको दीर्घकालीन समाधान खोज्ने निर्णयसहित बैठक टुंगियो।
त्यसपछि उपमहानगरपालिकामा बसेको बैठकमा कार्यकारी अधिकृत हरि प्याकुरेलले दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा लगेर छाडा चौपाया छाड्ने प्रस्ताव राखे। छाडा चौपायाका कारण तनावमा रहेका मेयर डा. धवलशमशेर राणाले कार्यकारी अधिकृतको प्रस्तावलाई सहर्ष स्वीकारे। दैलेखमा छाडा चौपाया पठाउन उपमहानगरले प्रक्रिया सुरु ग-यो।
दैलेखका स्थायी बासिन्दा रहेका कार्यकारी अधिकृत प्याकुरेलले त्यहाँका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटासँग फोनमार्फत चौपाया पठाउनेबारे कुराकानी गरे। उनले पनि मौखिक सहमति दिए। स्रोतका अनुसार नेपालगन्जका मेयर रिझाउन प्याकुरेलले चौपायाहरुलाई आफ्नो गृहजिल्ला दैलेख पठाउनुपर्ने प्रस्ताव गरेका हुन्। प्याकुरेल केही समयअघिसम्म स्थानीय विकास अधिकारी थिए। उनले सुर्खेतमा रहँदा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि समालिसकेका छन्।
उपमहानगरपालिकाको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले प्रहरी, निकुन्ज र बाटोमा पर्ने चेकपोस्टहरुलाई ‘तीन सय ७० पशु चौपाया दैलेखसम्म पु¥याउने कार्यमा सहयोग गरिदिनुहुन’ भन्ने बेहोराको पत्र लेख्यो। सोही पत्रका आधारमा बाँकेदेखि सुर्खेतको कटकुवासम्म पर्ने प्रहरीका पाँच र नेपाली सेनाका तीनटा चेकपोस्टले चौपाया बोकेका ट्रकलाई निर्वाध अघि बढ्न दिए।
दैलेख नपु-याउँदै भीरबाट खसालियो
चितवन क्यारियरले चौपाया दैलेखसम्म पु-याउने जिम्मा पाएको थियो। गाई राखेर नेपालगन्जबाट बिहीबार राति दैलेखतर्फ छुटे आठवटा ट्रक। ती ट्रकसँगै नगर प्रहरी निरीक्षक सूर्य बोगटी नेतृत्वको टोली पनि थियो। उनीहरुले गन्तव्यसम्म नपु-याउँदै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार धुलियाबिट, उत्तरी जलाधार क्षेत्रमा पर्ने कटकुवालगायत ठाउँमा गाईहरु झारे। ‘गाडीमै गाई मरेको भए त्यसको जानकारी प्रशासन, प्रहरी र नगरपालिकालाई दिएर व्यवस्थापन गर्नुपथ्र्यो,’ वीरेन्द्रनगर नगरपालिकाका वातावरण एवं अनुगमन शाखा प्रमुख यामलाल गिरीले ‘गाडी ब्याक गरेर गाई भीरमा खसाल्नु भनेको अपराध हो। ’ उनले भेरी पुलदेखि नै कटकुवासम्म मरेका र ज्युँदा गाई छोडिएको पाइएको बताए।
‘शुक्रबार साँझसम्म २४ वटा गाई मृत अवस्थामा फेलापारेका थियौं, त्यो संख्या बढेर शनिबार ३५ पुगेको छ,’ गिरीले भने, ‘अझै खोजिरहेका छौं, मरेका चौपायाको संख्या अझै बढ्ने देखिन्छ। ’ कटकुवाको भीरमा दुई, धुलियाबिटमा छ र झुप्राखोला नजिकैमात्र शनिबार तीनवटा गाई मरेको अवस्थामा फेलापरेका छन्।
‘समन्वय र सहकार्य भएन’
भारतबाट समेत आएका चौपायालाई नेपालगन्ज उपमहानगरपालिकाले कान्जीहाउसमा राख्ने गरेको छ। तीन बिघा क्षेत्रफलमा फैलिएको कान्जी हाउसको क्षमता झन्डै ५० वटा चौपाया राख्ने मात्रै हो। उक्त कान्जी हाउसमा पाँच सयसम्म चौपाया राखिएका थिए। खाना र औषधि उपचारको राम्रो व्यवस्था नहुँदा कान्जी हाउसभित्रै चौपाया मर्न थालेपछि सम्बन्धित स्थानीय तह र प्रशासनसँग समन्वय नगरी गाईहरु दैलेख पठाउन खोजेको देखिन्छ।
चौपायालाई जहाँ पु¥याउन खोजिएको हो, त्यहाँका सरोकारवाला निकायसँग कुनै समन्वय र सहकार्य गरिएको पाइँदैन। दैलेखको श्रीस्थान क्षेत्र रहेको भैरवी गाउँपालिका र श्रीस्थान मन्दिर व्यवस्थापन समितिलाई नेपालगन्जबाट पठाइएका गाईको विषयमा जानकारी छैन्। ‘यहाँ गौशाला र चरन क्षेत्र छैन्,’ श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले भने, ‘यस्तो ठाउँमा गौमाता ल्याउने कुराले हामीलाई गम्भीर बनाएको छ। ’ उनले नेपालगन्ज उपमहानगरपालिकाले चौपाया पठाउने विषयमा गाउँपालिका र मन्दिर व्यवस्थापन समितिसँग कुनै समन्वय नगरेको र पूर्वस्वीकृति पनि नलिएको बताए।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी चौपाया एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा समन्वय गर्नुपर्ने बताउँछन्। ‘पठाउने र पु-याउने जिल्ला मात्रै होइन् बाटोमा पर्ने जिल्लालाई पनि यसको पूर्वजानकारी हुनुपथ्र्याे’ उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले गाई पठाएको मात्रै देखिन्छ, जिम्मा लिनेको अत्तोपत्तो छैन्। ’