हिन्दू परम्पराअनुसार तीज नारीहरुको विशेष पर्व हो । निराहार व्रत वसेर श्रीमान्को दीर्घायुको कामना गर्नु यो पर्वको विशेषता मानिन्छ । तीजको यही विशेषतालाई लिएर पछिल्लो समय तीव्र रुपमा पक्ष–विपक्षमा बहस हुन थालेको छ । केही तीजको विशेषतालाई मुक्त कण्ठले प्रशंसा गर्छन् भने केहीले विरोध । प्रशंसकहरु व्रतलाई स्वास्थ्यसँग जोड्दै मौलिक संस्कार, संस्कृति र परम्पराका रुपमा रहेको तीजलाई बचाउनुको विकल्प नरहेको तर्क गर्छन् भने केही तीजलाई परिमार्जन गर्नुपर्ने कडा आवाज उठाउँछन् । परिमार्जित तीजको परिकल्पना गर्नेहरु पितृसत्तात्मक सोच र व्यवहारको उपजका रुपमा यो रहेकाले यसको आयु लामो नरहेको भन्न पछि पर्दैनन् । फरकफरक क्षेत्रमा रहेका केही प्रतिनिधि आवाजहरु यस्ता छन् ।
साथीसङ्गी व्रत बस्थे । लेखक अर्चना (थापा)लाई पनि रहर लाग्थ्यो । पानी पनि नपिई तीजको व्रत बस्थिन् । विस्तारै बुझ्दै गइन् । केका लागि व्रत ? प्रश्नले झटारो हान्थ्यो । मनमा अनेक तर्क–विर्तक उठ्थे । विवाह गरिन् । समाजको भय । कसले के भन्ला भन्ने पीर ! समाजको लाज ढाक्नै भए पनि अर्चना व्रत बसिन् । निराहार व्रत ।
समयसँगै मन दह्रो हुँदै गयो । व्रत किन नबसेको भन्नेहरुलाई तर्कले जित्छु भन्ने आत्मविश्वास बढ्दै गयो । त्यसपछि उनले निर्णय गरिन्– श्रीमान्को दीर्घायुको कमना गर्दै व्रत बस्दिनँ । अर्चनाले व्रत बस्न छोडेको डेढ दशक भयो ।
किन ?
तीजले नारीलाई पुरुष सत्तात्मक सोचको बन्दी बनाएको उनको ठहर छ ।
कसरी ?
श्रीमान्को दीर्घायुको कामना गर्दै श्रीमतीले व्रत बस्नुमा कुनै तर्क नै मिल्दैन भन्ने अर्चना आजको वैज्ञानिक युगमा तर्कको अर्थ खोज्नुपर्नेमा जोड दिन्छिन् ।
“शिवका लागि भनेर भनिए पनि श्रीमान्कै लागि व्रत बसिन्छ । श्रीमतीले खाली पेट बस्दैमा न श्रीमान्को आयु लामो हुन्छ, न यो प्रचलन नै न्यायसङ्गत छ,” अर्चना आफ्नो विचार पोख्छिन्, “आजको समाजमा महिला र पुरुषबीच मात्रै पनि सम्बन्ध हुँदैन । समलिङ्गी सम्बन्ध पनि हुन्छ । महिलामहिला र पुरुषपुरुषबीच पनि सम्बन्ध हुन्छ ।” परम्परागत मान्यताबाट अलिकति अगाडि बढेर अचना थप्छिन्, “यस्ता व्यक्तिहरुका लागि यो परम्परागत मान्यताको कुनै औचित्य हुँदैन ।” सम्बन्धका विभिन्न नयाँनयाँ आयाम थपिँदै गएका बेला रुढीवादी सोचले ग्रस्त विचारलाई अँगालेर हिँड्नु गलत भएको उनको टिप्पणी छ ।