२०७३ साल वैशाख पहिलो साता हामी एउटा साहित्यिक यात्रामा थियौँ। नेपाली कला साहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको तीनदिने यात्रामा वैशाख ३ गते गर्मी सहर इटहरी र धरान छाडी भेडेटारको रमरम चिसो झेल्दै साँझपख धनकुटा बजार पुगियो।
पुख्र्यौली घर धनकुटा भएका विराटनगरवासी कवि सुमन पोखरेलको साथमा सिमसिम पानी परिरहेको अँध्यारो साँझ हामीले धनकुटा बजारलाई मज्जाले फन्को लगायौँ। खाना खाएपछि राति अबेरसम्म टुँडिखेलवरिपरि खुबै घुमियो।
नाटककार अशेष मल्लको घर यता, कवि तुलसी दिवसको उता भनेर सुमन पार लगाइरहेका थिए। प्रतिष्ठानकी अध्यक्ष मोमिलाको यो माइती सहरमा भोलिपल्ट दिउँसो बृहत् कविता गोष्ठी भयो।
धनकुटाका नयाँ, पुराना कवि तथा पत्रकारसँग चिनजान भयो।
वैशाख ४ गते बिहानै धनकुटाको हिले हुँदै तेह्रथुमको वसन्तपुर पुगियो। वैशाखको गर्मीमा पनि हिले उता जाडो हुने रहेछ। कुहिरोले ढपक्क ढाकेको वसन्तपुर पुग्दा त सामान्य ज्याकेटले धान्नै मुस्किल, ठुकठुक कमाउने चिसो थियो। त्यहाँबाट २६ किमि पूर्व म्याङलुङ पुग्ने योजना थियो।
चालकसँग के कुरा नमिलेर हो, योजना स्थिगित भयो। अनि त बिहान वसन्तपुरको रमाइलो रमणपछि खाना खाइवरी नजिकै पर्ने संखुवासभाको टुटे देउराली र त्यहाँबाट हिँड्दै अत्यन्त रमणीय आरआर पार्क पुगियो।
त्यस यात्रामा को–को थिए, म अहिले सबैको नाम सम्झन सक्दिनँ। तर, अत्यधिक वजन भएकी दिदी उषा शेरचन भने टुटे देउरालीमा माइक्रोमै बसिरहिन्। ‘दिदी हिँड्दा भुइँचालो आउँछ’ भनेर हामी हाँसो गरिरहन्थ्यौँ। त्यसमा उनी वातावरण नै थर्कने गरी हाँसिदिन्थिन्। कवि तुलसी दिवस पनि हिँडेर त्यहाँ पुग्न तयार भएनन्।
सदैव सुस्वास्थ्य अनि योग अभ्यासमा जोड दिने र पैदल हिँड्न प्रेरित गर्ने डा. हरिप्रसाद पोखरेलदेखि पैदल हिँड्न लगभग अनिच्छुक मोमिला, राजेश्वर कार्कीलगायत कविहरू पार्क पुगेका थिए। बाटैबाटो हिँडेर उत्तरपट्टिको प्रवेशमार्गबाट हामी ओरालोतर्फ रहेको पार्क प्रवेश गर्यौँ। हामीभन्दा केहीअघि तीन/चार समूह पार्क प्रवेश गरिसकेका थिए ।
त्यस बेला मसँगै कवि ठाकुर बेलवासे थिए। अलितल हल्का ओरालोमा हजार र पाँच सय रुपियाँका थुप्रै नोटहरू छरिएका थिए। मैले बेलवासेलाई देखाइदिएँ। बाघको छाया परेको मृगजस्तै बुरुक्क उफ्रेर दच्किँदै उनले भने, ‘म यो पैसा छुन्नँ, म यो पैसा छुन्नँ, बेकारमा कुटाइ खाइन्छ।’
अरूले भए यी नोट दुरुपयोग गर्ने खतरा छ, यसको असली मालिक फेला परे फर्काउँछु वा पुलिसलाई बुझाउँछु भन्ने सोचेर मैले सबै नोट टिपेँ। तर, न त्यहाँ कुनै ब्याग थियो, न कसैको परिचयपत्र थियो, न कुनै कार्ड थियो । नोट जिन्स पाइन्टको बगलीमा अटाइ नअटाइ हुँदा मलाई हिँड्नै अप्ठेरो भयो। एकैछिनमा यो खबर हाम्रा सहयात्रीबीच भाइरल भइहाल्यो।
जिन्दगीमा अक्सर मैले आफ्नो पैसा वा महत्वपूर्ण सामान हराएको र गुमाएको मात्र छु। अहिले यत्रो रकम पाउँदा एक हिसाबले म आत्तिएँ।
खबर भाइरल हुँदा म साँच्चिकै डराउन थालेँ। म तारो हुने खतरामा थिएँ । कुनै नक्कली मान्छे आएर यो नोटमाथि हकदाबी गर्ने, लुट्ने वा मैले कुटाइ खाने खतरा थियो।
अर्कोतिर यो रकम हराउने मान्छेको हालत अनुमान गर्दा, अझ ऊ विपन्न भए वा कुनै आफन्तको उपचारका लागि ऋण गरेर पैसा ल्याएको भए उसलाई कस्तो भइरहेको होला भन्ने अनुमानले मनमा गहिरो दुःख गढिरहेको थियो।