मेसी र रोनाल्डोलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट!

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले यस वर्षको युईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्।

गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन भान डाइकले निर्णायक प्रदर्शन गरेका थिए ।

यस्तै नेदरल्याण्ड्सलाई युईएफए नेसन्स लिगको फाइनलसम्म पुर्‍याउने क्रममा उनको योगदान उत्कृष्ट थियो।

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए ।सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

युरोपको उत्कृष्ट डिफेन्डर पनि चुनिएका भान डाइकले विश्व फुटबलकै दुई महान खेलाडीहरु लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन्।

सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेसीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए।

गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए। यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे।

रोनाल्डोले इटालीयन सिरी एमा युभेन्टसलाई दुई महत्वपूर्ण उपाधि दिलाएका थिए भने पोर्चुगललाई युईएफए नेशन्स लिगको उपाधि दिलाउन पनि निर्णायक भूमिका खेलेका थिए ।

लियोनल मेसीको कप्तानीमा बार्सिलोनाले ला लिगाको उपाधि उचालेको थियो। च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित बार्सिलोनाका लागि मेसीले सर्बाधिक गोल गरेका थिए।

महिलातर्फ इंग्लिस स्ट्राइकर लुसी ब्रोन्जले युईएफए उत्कृष्ट महिला वर्ष खेलाडीको पुरस्कार जितिन्।

प्रकाशित मिति: : 2019-08-30 08:01:23

प्रतिकृया दिनुहोस्