शालिकराम आत्महत्या प्रकरणकी तेस्रो पात्र अस्मिता कार्कीकै भने शालिकरामलाई नै माफ गरिदिएको बताएकी छिन् । उनले आत्महत्या त मलाई गर्नुपर्ने बनाएका थिए भन्दै शालिकरामको आत्माको चीरशान्तिको कामना पनि गरेकी छिन् ।
आफूलाई अविवाहित भनेर प्रेमजालमा पारेर उनले जसरी आफ्नो जीवन सिध्याए, त्यसबाट हाम्रो समाजका धेरैले पाठ सिक्न जरूरी रहेको पनि उनले बताइन् । शालिकरामकी श्रीमती सम्झना आफूभन्दा पनि बढी पीडित भएको बताउँदै यस्तो अप्ठ्यारो परिस्थितसँग जुध्न उनलाई भगवानले शक्ति दिउन् भन्ने प्रार्थना पनि उनले गरेकी छिन् ।
यो प्रकरणमा आफू सबैभन्दा पीडित भएको बताउँदै न्यूज २४ ले आफ्ना मान्छेलाई बचाउन मेरो मेसेन्जर बक्सको पर्सनल मेसेज सार्वजनिक गरेर थप पीडित बनाएकोमा दु:ख प्रकट गरिन् । आफू चर्चित मान्छेको छायाँमा परेको बताउँदै उनले भनिन् - यसले पनि नेपालमा बलेको आगो नै ताप्ने रहेछन् भन्ने देखियो । एउटै मुद्दामा परेका तीनजनामा पनि आफू सञ्चारकर्मी नभएकै कारण विभेद गरिएको भन्दै उनले त्यसमा आफूलाई दु:ख लागेको बताइन् ।
उनले आफ्नो लागि बोलिदिने धेरै नभएको बताउँदै बोली दिनेहरूलाई धन्यवाद दिइन् । उनले आफ्नो धन्यवाद सभा गर्ने हैसियत पनि नभएको बताउँदै मिडियाबाटै धन्यवाद दिएको पनि बताइन् ।
उनले आफूलाई न्यायालयबाट बिना धरौटी साधारण तारिखमा रिहा गरेर न्याय दिएको बताइन् । मुद्दा जारी नै रहेकाले आउँदा दिनमा पनि न्याय हुने कुरामा विश्वस्त रहेको भन्दै उनले अगाडि भनिन्- ' मलाई धरौटी नलिनुले पनि मेरो कसुर नरहेको संकेत मिलेको छ ।'
यो घटनाबाट आफूले ठूलो पाठ सिकेको बताउँदै बाँकि जीवन अर्थपूर्ण रूपमा बाँच्ने पनि बताइन् ।