उपत्यका भित्रका सडकमा सवारी साधन पार्किङ बढेपछि सरकारले अब सडकको ग्रिन बेल्ड र मान्छे हिड्न प्रयोग हुने फुटफाथमा पार्किङ गर्न नदिने भएको छ।
सवारी गुड्न बनाएका सडक र मान्छे हिड्न बनाइएको फुटफाथमा पार्किङ गर्ने बढेपछि सडक बिभाग, ट्राफिक प्रहरी र सरोकारवाला मिलेर सडक पार्किङलाई ब्यवस्थित पार्न लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए।
बिएल नेपाली सेवासँग कुरा गर्दै एसएसपी पन्तले भने, ‘सवारी साधन गुडाउन बाटो साँघुरो भयो भनेर मान्छेका घर भत्काएर सरकारले बाटो फराकिलो बनायो, त्यसरी बनेको बाटोमा पार्किङ गर्न थालियो, अब यसलाई हामी हटाउदैछौं।’
सवारी साधन गुडाउने बनेको बाटो पूर्ण प्रयोग हुनुपर्ने भन्दै उनले भने, ‘हामी ट्राफिक जाम भयो भन्ने, अनि सडकै भरी सवारी पार्किङ गर्ने?’
उनका अनुसार अहिले उपत्यकाको सडक जामको मुख्य कारणमा सडकमा र मान्छे हिड्न प्रयोग हुने फुटफाथमा पार्किङ गर्नु हो।
‘बागबजार क्षेत्रमा सडकैभरी सवारी साधन पार्किङ गरिएको हुन्छ, त्यसको असर शहितगेटसम्म पुग्छ’, एसएसपी पन्तले भने, ‘अब पनि सडक पार्किङलाई नहटाउनेहो भने भोलि झनै समस्या बढ्छ।’
सडक पार्किङ हटाउनेसँगै उपत्यकामा ब्यवस्थित पार्किङको लागि योजना बन्दै गरेको पनि एसएसपी पन्तले बताए।
‘सवारी साधन पार्किङ त गर्नैपर्यो, हामीले सरोकारवालासँग समन्यव गरी उपत्यका भित्रका विभिन्न स्थानमा ब्यवस्थीत पार्किङ बनाउने तयारीमा र्छौ’, उनले भने।
पार्किङ क्षेत्र अभावको कारण देखाएर सवारी चालकले मनपरि ढंगले फुटपाथमा पार्किङ गर्दै आएका छन् । पैदलयात्री हिंड्ने बाटो नै छेकिने गरी सवारीसाधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ ।