पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णलाई विषालु पेडा खुवाएर मार्न षडयन्त्र गरिएको आशंका गरिएको छ ।
कृष्णाजन्मष्टमीको दिन शुक्रबार एकजना पूर्वकर्मचारीले दिएको पेडा खाएको केही समयमै मुर्च्छा परेपछि उनलाई स्थानीय पतञ्जलि योगपीठ अस्पतालमा भर्ना गरेर प्रारम्भिक उपचार गरिएको थियो । चिकित्सकहरूले खानेकुरा विषाक्त भएको हुनसक्ने भन्दै बान्ता गराए र थप उपचारका लागि उनलाई ऋषिकेशस्थित एम्स अस्पतालमा लैजान सुझाव दिएका थिए ।
एम्स अस्पतालले उनलाई फुड पोइजनिङ भएको बताउँदै केही ढिला भएको भए कोमामा जानसक्ने सम्भावना रहेको जनाएको छ ।
उनी उपचारपछि फर्किएका छन् । तर, उनलाई मार्ने नै षडयन्त्र भएको हुनसक्ने भनेर त्यस कोणबाट अनुसन्धान पनि सुरू गरिएको बताइएको छ ।
उनले खाएको पेडामा कुनै पनि प्रकारको विषादी हुने भन्दै त्यसको अवशेष फोरेन्सिक जाँचका लागि नयाँदिल्ली पठाइएको छ ।
यसैबीच बालकृष्णले भने जसले यस्तो षडयन्त्र गरेको भए पनि उसलाई माफ गरिदिने बताएका छन् । 'उनलाई भगवानले आइन्दा यस्तो हर्कत नगर्न सद्वुद्धि दिउन्', उनले भनेका छन् ।
नेपाली आमाबाबुका भारतीय सन्तान आचार्य बालकृष्ण विश्वकै ३६५औँ धनी व्यक्ति हुन् । पतञ्जलि योगपीठको ९८.६ प्रतिशत सेयर रहेका उनको कुल सम्पत्ति ४.८ अर्ब डलर आँकलन गरिएको छ।