कोटेश्वरमा अत्यासलाग्दो जाम

तस्बिरः गोरखापत्र

काठमाडौँ, भदौ ११ गते । चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्यजस्तै छ । यो जामले सबैलाई हैरान पारेको छ ।

अरनिको राजमार्ग भएर राजधानी आउने र जाने सवारी साधनहरू कतिपय अवस्थामा आधा घन्टादेखि दुई घन्टासम्म जाममा पर्ने गरेको गुनासो सर्वसाधारणको छ । त्यति मात्र होइन, कार्यालय आउने र जाने समयमा पनि दैनिक उत्तिकै सास्ती खप्नु परेको भनाइ यात्रु रामेश्वर श्रेष्ठको छ । 

चक्रपथ रुटमा चल्ने गाडी आउने र जाने दुवै सडक किनारामा त्यहीँ रोकेर ओराल्ने र चढाउने व्यवस्था छ तर त्यसमा समस्या बीसको उन्नाइस भएको छैन । यो समस्याको समाधानकै लागि यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जाम घटाउन रोक्न नपाउने तर चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) व्यवस्था लागू गरेको थियो तर केही दिनयता ‘पिक एन्ड ड्रप’बाट पनि जाम घटाउन नसकिएको भनाइ ट्राफिक प्रहरीको छ ।

कोटेश्वरचोकमा स्मार्ट ट्राफिक बत्तीका साथै आकासेपुलको अभाव छ । कार्यालय समयमा सर्वसाधारणले बाटो काट्ने र सवारी साधनहरू पनि चारैतर्फबाट एकैसाथ पुग्ने भएकाले लामो जाम हुने गरेको भनाइ त्यहाँ कार्यरत ट्राफिक प्रहरीको छ ।

बजेट छ तर कार्यान्वयन हुँदैन 
काठमाडौंँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले त्यहाँको ट्राफिक जाम हटाउने विषय छलफलकै चरणमा रहेको बताउनुभयो । कोटेश्वर नाकाको जाम घटाउन सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाले विभिन्न कार्ययोजना तथा बजेट छुट्याउने गरेका छन् तर त्यसको कार्यान्वयन भने शून्यजस्तै छ । चुस्त, छिटो, छरितो तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि ती निकायहरूबीच प्रत्येक महिनाको एक दिन छलफल हुने गरेको छ । 

महानगरपालिकाले आकासेपुल, स्मार्ट ट्राफिक बत्ती, सडक विभागले सडक मार्किङ (रेखाङ्कन) र यातायात कार्यालयले प्रदूषण नियन्त्रण तथा पुराना सवारी साधनहरू विस्थापित गर्न आकर्षक कार्ययोजना सार्वजनिक गरे पनि कार्यान्वयन हुन नसक्दा उक्त समस्या देखिएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्त कोटेश्वर नाकामा हुने सवारी जाम घटाउन परम्परागत (म्यानुअल ट्राफिक प्रणाली) मात्रै अहिलेको विकल्प भएको बताउनुहुन्छ । यो विकल्प जति प्रभावकारी अवलम्बन गरे पनि पानी परेको बेला र कार्यालय समयमा सडक जाम नभई सवारी साधनहरूको बाक्लो लाम हुने गरेको उहाँ स्वीकार्नुहुन्छ ।

उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग हुन सकेको छैन, २४ चौबीसै घन्टा चोकमा बसेर ट्राफिक प्रहरी जवानले हातको इशारा र सिट्टी फुकेर सवारी व्यवस्थापन गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा चुस्त र छिटोछरितो सेवा प्रवाह गर्न समस्या नै छ ।”

जनशक्तिको पनि अभाव 
कोटेश्वरको जाम काठमाडौँ उपत्यकाकै जामको चरम् रूप हो । जनशक्ति अभावले पनि उपत्यकामा ट्राफिक जामको चर्को समस्या छ । प्रहरीका अनुसार ट्राफिक प्रहरी जनशक्ति अभाव छ । सरुवा तथा पदस्थापन भएकाहरू उपत्यका छोडेर बाहिर जाने र बाहिरका ट्राफिक प्रहरी आउन नचाहने भएकाले जनशक्तिको अभाव खट्किएको हो । 

महाशाखाका प्रहरी नायब उपरीक्षक प्रभु ढकाल ट्राफिक प्रहरीका लागि सरकारले आकर्षक भत्ताको व्यवस्था गरे पनि सजिलो र सुविधायुक्त स्थानमा सरुवा जान चाहनेहरू धेरै रहेको बताउनुहुन्छ । प्रायः उपत्यकामा बस्न इच्छुक धेरै कम छन् । 

उहाँले भन्नुभयो, “अहोरात्र खटिनुपर्ने बाध्यता त छँदैछ, धुवाँ, धुलो र चालकको गालीबाट आजित भएकाहरू उपत्यका छोड्नै चाहन्छन् तर बाहिरका आउन चाहँदैनन्, कम्तीमा दुई हजार ट्राफिक प्रहरी जनशक्ति चाहिन्छ ।”

हाल महाशाखामा एक हजार दरबन्दी रहेको छ भने करिब एक हजार चार सय जनशक्ति कार्यरत छन् । सोमध्ये सबै जनशक्ति सडकमा खटिँदैन । उहाँका अनुसार स्मार्ट तथा प्रविधिमैत्री ट्राफिक सेवा सञ्चालन भएको भए यो जनशक्ति नै पर्याप्त हुन्थ्यो ।

प्रकाशित मिति: : 2019-08-28 06:53:37

प्रतिकृया दिनुहोस्