अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा धेरै परिवर्तन आयो । कहीँ रूख बुट्यान देखिँदैनन् । ठूला भवन मात्र निर्माण भए, आर्थिक उन्नति र नैतिक विकास भएको छैन । मेरो किशोर र युवावयको भक्तपुरलाई अहिलेको पुस्ताले कल्पना पनि गर्न सक्दैन । त्यतिवेला भक्तपुरबाट काठमाडौं जानुपर्दा पैदलयात्राको विकल्प थिएन । धेरैपछि सडक बन्यो र चेभ्रोलेट कम्पनीका ठूला लरी गुड्न थाले ।
इँटालगायत सामान बोक्ने त्यस्ता लरीमा पछाडि बसेर जानुपथ्र्यो । पुरानो सल्लाघारी हुँदै ठिमीको ठाडो उकालो चढ्नुपथ्र्यो । घोडा पनि चढ्न नसक्ने उकालो थियो त्यो । अहिले त छाँट्दा–छाँट्दा समतलजस्तै भइसक्यो त्यो ठाउँ । विसं. २००० सालतिर खर्पनमा बोकाएर स्कुल जान्थ्यौँ । त्यो उकालोमा खर्पन बोक्ने मानिसलाई पनि गाह्रो हुन्थ्यो, हामी उत्रिएर
हिँड्थ्यौँ ।
नैतिक बन्धनमा बाँधिएको समय थियो त्यो । अहिले त धेरै ‘कमर्सियलाइज्ड’ र ‘सेल्फ सेन्टर्ड’ समाज भयो । आफ्नो मात्र भलाइ चिताउने आत्मकेन्द्रित आचरण बन्यो मानिसको । हामीलाई हजुरबुवा/आमाले बिहान–बिहान गीता र चाणक्य नीति पढाउनुहुन्थ्यो । अरू नीतिशास्त्र पनि पढ भन्नुहुन्थ्यो । त्यो सन्दर्भ अहिलेको दैनिक जीवनमा कल्पनाबाहिरको विषय हो ।
सल्लाघारीको वीरेन्द्र सैनिक बन्नुअघि त्यहाँ टुँडिखेल थियो । हामी त्यो टुँडिखेलमा खेल्थ्यौँ, चंगा उडाउँथ्यौँ । सैनिक स्कुल खुलेपछि त्यो टुँडिखेल मासियो । सिद्धपोखरीआसपास अरू पनि पोखरी थिए । सिद्धपोखरीमा नुहाउने गथ्र्यौं, त्यतिवेला । अब त सल्लाघारीको घना जंगल पनि बाँकी छैन । त्यो जंगलमा चमेरा नै चमेरा हुन्थे । ती चमेरा कता हराए कता ।
अहिलेका सहरमा त्यतिवेला खेतैखेत थिए । धान, गहुँ, मकैलगायत बाली लगाइन्थ्यो । हामी केटाकेटी छँदा भक्तपुरमा काउली रोप्ने चलन नै थिएन, काठमाडौंबाट किनेर ल्याउनुपथ्र्यो । अहिले भक्तपुरका किसानले काउली बेचेरै जीविकोपार्जन गर्छन् ।