लिग वानमा पिएसजीकाे लगातार दाेस्राे जित, नेइमार फेरि बेन्चमै

तस्बिरः एजेन्सी

फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित निकालेको छ।

घरेलु मैदानमा आइतबार भएको खेलमा वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङ चम्कँदा पीएसजीले टोलोउसलाई चार शून्यले हरायो।

पीएसजीको फराकिलो जितमा इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

पार्क डि प्रिन्सेस पेरिसमा आइतबार राति घरेलु टोलीले टोलुसोलाई खेलको सुरुवातदेखि नै लगातार दवावमा दिए पनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो।

चोटका कारण खेलको १४औं मिनेटमा एडिन्सन काभानीको स्थानमा मैदान छिरेको इरिक म्याक्सिमले ५०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

५५औं मिनेटमा आत्मघाती गोलबाट पीएसजी खेलमा २–० ले अघि बढ्यो।

७१औं मिनेटमा एन्जल डि मारिया पेनाल्टीमा चुके। गोन्कालभेसले पेनाल्टी एरियामा डि मारियालाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहारलाई गोलरक्षक बाप्टिस्टे रेनेटले बचाएका थिए । तर, ७५औं मिनेटमा इरिकले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए।

खेल सकिन ७ मिनेट बाँकी रहँदा मार्किनेसले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए।

यो जितसँगै पीएसजी ३ खेलबाट ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। टोलुसो ४ अंक जोडेर १२औं स्थानमा छ।

पीएसजीले स्टार खेलाडी नेयमारलाई यो खेलमा पनि बेन्चमा राखिएको थियो । पछिल्लो पटक क्लव छोड्ने हल्ला चलिरहेका बेला उनी लगातार तीन खेलमा टिममा स्थान बनाउन सकेनन्।

 

प्रकाशित मिति: : 2019-08-26 08:15:41

प्रतिकृया दिनुहोस्