स्पेनिश ला लिगा फुटबलमा एन्टोनी ग्रिजम्यान चम्किएपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोना खेलमा फर्किएको छ।
मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेसी र लुइस सुआरेज नभएको अवस्थामा यसै सिजन क्लबमा अनुबन्ध भएका ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको हो।
पहिलो खेलमा पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा आइतबार राति रियाल बेटिसमाथि ५–२ को फराकिलो जित निकालेको हो।
बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिसमाथि फराकिलो जितमा एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो भिडालले समान १ गोल गरे। बेटिसका नविल फेकिर र लोरेन मोरनले गोल गरे ।
गत जुलाईमा १०७ मिलियन पाउन्डमा बार्सिलोना गएका ग्रिजम्यानले घरेलु मैदान नोउ क्याम्पमा भएको डेब्यु खेलमा आफ्नो प्रभाव छाड्न सफल रहे।
घरेलु मैदानमा बार्सिलोनाले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । क्याम्पनोउमा खेलको १५औं मिनेटमा नविल फेकिरले गोल गरेपछि बार्सिलोना पछि परेको थियो ।
४१औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
५०औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलोपटक खेलमा २–१ को अग्रता दिलाए। ५६ औं मिनेटमा कार्लेस पेरेजले गोल गरेपछि बार्सिलोना जिततर्फ अग्रसर बन्यो। ६०औं मिनेटमा अल्वाले गोल गरेपछि बार्सिलोनाले खेलमा ४–१ को अग्रता बनायो ।
७७औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। ७९औं मिनेटमा लोरेनले गोल गरे पनि बार्सिलोना ५–२ ले विजयी हुन सफल भयो ।
जितसँगै बार्सिलोनाले दुई खेलबाट ३ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ। अंकविहीन रियल बेटिस पुछारमा छ ।
आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेगानेसमाथि १–० को कठिन जित निकालेको छ । एट्लेटिकोको जितमा भिटोलोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै एट्लेटिको दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंकविहीन लेगानेस १९औं स्थानमा छ ।
दोस्रो चरणको समाप्तिसम्म सेभिया र एथलेटिको मड्रिड दुवै खेल जितेर ६–६ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।
रियाल मड्रिड, रियाल भल्लाडोलिड, एथलेटिको बिलबाओ, रियाल सोसिडाड, ओसासुना र डेपोर्टिभो अलाभेसको ४–४ अंक छ।
नवौं स्थानको बार्सिलोना, मयोर्का, लेभान्ते र सेल्टाभिगोको ३–३ अंक छ ।