'सिधा कुरा जनतासँग' फेमका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरू चितवनमा भेला हुने क्रम जारी छ । शनिबारदेखि नै सुरू भएको यो क्रम आइतबार विहान पनि कायमै छ ।
रविलाई अनुसन्धानका क्रममा दोस्रोपटक थपिएको म्याद आज सकिने भएकाले उनीमाथि पुन: म्याद नथपियोस् र भरिशक्य मुद्दा नै खारज होस् नभए पनि साधारण तारिखमा छोडियोस् भन्ने दबाब बढाउन उनीहरू चितवन हानिएका हुन् ।
चितवन हानिनेमा रविका सर्वसाधारण फ्यानदेखि राष्ट्रको गहना भनिने कलाकारहरू पनि छन् । उनीहरू भनिरहेका छन्- निर्दोष नफसोस्, दोषी नउम्कियोस् । तर, यसो गर्दा उनीहरूको आशय प्रष्ट बुझिन्छ- रवि चाँहि निर्दोष नै हुन् । त्यसमा चाँहि उनीहरूले पहिलै फैसला गरिसकेका छन् । भन्न त के पर्थ्यो भने- निस्पक्ष र पारदर्शी छानबिन होस् । त्यसो गर्दा जो दोषी भए पनि कारबाही होस् ।
पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानिबनका क्रममा चितवन प्रहरीको हिरासतमा रहदै आएका उनको दोस्रो म्याद आइतबार सकिदैछ । पाँच पाँचदिनको दुई म्याद गरी उनले १० दिन हिरासतमा बिताइसकेका छन् ।
आज रविका बारेमा के हुन्छ ? सबैतिर चासो र चिन्ता छ । प्रहरीका सामु आज पनि दुईवटा विकल्प छन्- भए/गरिएको अनुसन्धानका आधारमा अदालतसमक्ष मुद्दा लैजाने वा छानबिनका लागि समय नपुगेको भनेर म्याद थपको माग लिएर अदालत जाने ?
प्रहरीको अनुसन्धानको गति हेर्दा अनुसन्धान सकिए जस्तो छनक छैन । तैपनि, म्याद थपको लागि प्रहरी नजाला कि जस्तो देखिन्छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हिरासतमै पुगेर रविलाई भेट्नुले त्यसैको संकेत गरेजस्तो देखिन्छ । एक कानून व्यवसायीको अनुमान हो यो ।
अनुसन्धान नसकी मुद्दालाई कमजोर बनाएर अदालतमा पेश गर्ने सम्भावना बढिरहेको बताउँदै उनी भन्छन्- यसबाट रविलाई सजिलो हुन्छ ।
अदालतमा मुद्दा पेश गरेको हकमा भने न्यायाधीशसँग तीन विकल्प हुन सक्छन् भन्दै उनी अगाडि भन्छन्- पहिलो, साधारण तारिखमा रविलाई छोड्ने । दोस्रो- धरौटीमा छोड्ने । तेस्रो- पुर्पक्षका लागि थुनामा पठाउने ।
यी तीन विकल्पमध्ये यो प्रकृतिका मुद्दामा धेरैका लागि दोस्रो विकल्प नै प्रयोग गरिदै आएकाले सम्भावना यसैको बढी छ ।
तर, जे गरे पनि रविका शुभचिन्तकहरू भने मान्ने मुडमा देखिदैनन् । उनीहरू रवि निर्दोष भएकाले उनीमाथि कुनै कारबाही नै गरिनु हुदैन, मुद्दा नै लगाइनु हुदेन भनिरहेका छन् । उनको पक्षमा नारा लागिरहेको छ- हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ । पञ्चायतकालमा यही नारा लाग्थ्यो । फरक यति थियो- रविका ठाउँमा राजा भनिन्थ्यो ।
समर्थकहरूको दिवानियापनको पारो यति बढेको छ कि अहिले रविको श्रीपेच लगाएको तस्बिर बनाइएको छ र सामाजिक सञ्जालमा भाइरल बनाइदैछ ।
कानुनलाई हातमा लिएर अराजकताको सीमा नाघ्न लागिसक्यो । यी सब रविका लागि हुदैछ र पनि उनी केही भनिरहेका छैनन् । उनको भनाइ छ- बाहिर मात्र निस्कन पाउँ, तीन घण्टामा निर्दोष साबित हुन्छु ।
आज के होला ? अहिलेलाई भने यसैको प्रतीक्षा छ ।