गैरआवासीय नेपाली संघ (एनआरएन)को महाकुभ्भ आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडोैंमा हुन लागेको पूर्वसन्ध्यामा यसका अध्यक्ष भवन भट्टको 'हर्कते व्यवहार' को एक अप्रिय समाचार बाहिरिएको छ ।
समाचारअनुसार मदिराले अनियन्त्रित भएर अध्यक्ष भट्टले ‘क्रु मेम्बर’ (उडानदल सदस्य)लाई अभद्र व्यवहार गरेपछि उनलाई उड्न लागेको जहाजबाट ‘अफ लोड’ गरिएको हो ।
उनी सिल्क एयरको उडान नम्बर एसएलके ४१३ नम्बरको कल साइन भएको विमानमा काठमाडौबाट सिंगापुरतिर उड्दै थिए ।
भट्टमाथि दुर्व्यवहार भएको दाबी
एनआरएन अध्यक्ष भवन भट्टसँगै सिल्करोडबाट अफलोड गरिएका सनत न्यौपानेले भने उल्टै भट्टमाथि दुर्वयवहार भएको बताएका छन् । उनले भट्टले मदिरा सेवन नगरेको दाबी गर्दै भने-'प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थितिबारे जानकारी लिन सिंगापुर जान लागेका भट्टलाई एयरवेजका कर्मचारीले दुर्व्यवहार गरेका हुन् ।'
त्रिभुवन विमानस्थलका एक सुरक्षा अधिकारीले विमान उड्न तयार भएको बेला भट्ट र उनीसँगै यात्रामा रहेका सनत न्यौपानेले उडानदलका सदस्यमाथि अभद्र व्यवहार गरेको जानकारी आएपछि उनीहरूलाई बाहिर निकालेको बताए ।
उनका अनुसार उड्न लागेको विमानमा पुन भर्याङ लगाएर उनीहरुलाई ‘अफ लोड’ गरिएको थियो । अफ लोड गर्नअघि भट्टले आफू एनआरएनको अध्यक्ष भएको भन्दै सुरक्षाकर्मीलाई थर्काएका थिए ।
रंगिला स्वभावका एनआरएन अध्यक्ष भट्ट यसअघि खातेपिते मामलामा बदनाम रहदै ाएका छन् ।
आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडोैंमा एनआरएनको नवौ महाधिवेशन हुन लागेको पूर्वसन्ध्यामा अध्यक्ष भट्टको यो हर्कते व्यवहारले संसारभरका एनआरएनहरूले लज्जित भएको महसुस गरेका छन् । उनको यो व्यवहारको सामाजिक सञ्जालमा भत्सर्ना हुन थालेको छ ।