मार्क्सले बुझेको पुँजीवादी व्यवस्था र वर्गीय समाजको विज्ञान नबुझ्दै मैले बुझेको थिएँ कि म कहिल्यै धनी हुनेछैन । मेरी छोरी सारिका जसलाई म धेरै प्रेम गर्छु, उनैको कसम खाएर भन्छु कि मलाई कहिल्यै धनीहरूलाई देखेर डाह लागेन र धनी हुने इप्सा पनि जागेन ।
तर, मलाई मेरा आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्दा, जस्तो कि छोरीको मन्टेस्वरीको फी, दुइटा कोठाको भाडा, लत्ताकपडा, दालचामल र कहिलेकाहीँ गर्नुपर्ने सामान्य औषधि उपचार गर्न धौधौ हुँदा र केही आपत्कालीन घटना घट्यो भने कसरी गुजारा चलाउने होला भनेर सोच्दै गर्दा मेरो टाउको दुख्छ ।
रक्तचाप बढ्छ । हजारौँलाई ज्ञानको दौडमा पछाडि पारेर म यो देशको अधिकृत भएको हुँ, तर मेरो हैसियत यस्तो छ । म जति गहिरिएर हेर्छु, मेरो देशको अनुहार निकै मलिन देख्छु ।
मैले अहिलेसम्म कुनै राजनीतिक पार्टीलाई पनि खुलेर समर्थन गरेको छैन । तर, मेरा दाजुभाइ वा आफन्त कुन पार्टीका छन् भनेर नै समाजले मलाई मैले नछानेको पार्टीसँग जोडिदिन्छन् । तर, मैले अहिलेसम्म कसैसँग भनसुन गरेर आफ्नो बाटो खुलाउने बाटो रोजिनँ । मेरा बाले देखाएको अप्ठ्यारो बाटोले मलाई अप्ठ्यारो घुम्तीमा पुर्याएको छ । तर, अहिलेसम्म जसोतसो यात्रा गरिरहेकै छु ।
प्रिय देश, तिम्रो यो विशाल क्षेत्रफलमा मैले पनि चार आना क्षेक्रफलको सपना देखेको थिएँ । र, मैले गएको १० वर्ष अथाह परिश्रम गर्दा पनि त्यो सपनाको जग हाल्न सकिनँ । मैले १० वर्षअगाडि अबको १० वर्षपछि यही अधिकृतको जागिर खाएर र बिहान प्राइभेट कलेजमा भ्याई–नभ्याई पढाएँ भने राजधानीमै नसके पनि आफ्नै जिल्लामा त एउटा सानो घर बनाउने जग्गा जोडौँला भन्ने सोचेको थिएँ, मात्र चार आनाको ।
सारिका ६ वर्षकी भइसकिन् । मसँग मेरा आफन्त भनेका बा हुनुहुन्थ्यो । मेरा कुनै दाजुभाइ वा दिदीबहिनी छैनन् । बा पार्किन्सन्स र मुटुका रोगी हुनुहुन्थ्यो । मृत्युसँग निकै डराउनुहुन्थ्यो । म राजधानीमा भर्खर अधिकृत भएर सिंहदरबारको अर्थ मन्त्रालयमा छिर्दा बालाई बिमारीले च्याप्यो ।