एक साताअघि पूर्वमुख्यसचिव भोजराज घिमिरेको कथा सङ्ग्रह ‘अन्तिम प्रश्न’ बजारमा आयो । सङ्ग्रहमा रहेका १६ कथाहरुलाई समालोचकहरुले ‘नेपाली साहित्यका फरक र गुणवत्ताको हिसावले साहित्यको इतिहासमा उल्लेख गर्नैपर्ने किसिमका’ भन्दै टिप्पणी गरे ।
यसअघि ४ गजल सङ्ग्रह, २ गीती सङ्ग्रह, ४ वटा गीती एल्बम र प्रशस्त फुटकर गीत-गजलहरु लेखेका घिमिरेले यसपटक कथा सङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । समालोचकहरुले निकै प्रसंसा गरेपछि हामीले पूर्वप्रशासक एवं अर्थशास्त्री डा. घिमिरेसँग साहित्यिक कुराकानी गर्यौं ।
आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले जगेडामा हालिदिएपछि आफ्नो साहित्यिक उन्नयन भएको घिमिरेले सुनाए ।
तपाईं लामै समय नेपाल सरकारको मुख्यचचिव बन्नुभयो । गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपालजस्ता तीन प्रधानमन्त्रीसँग काम गर्न पाउनुभयो । त्यसतर्फ फर्केर हेर्दा कस्तो महसुस हुन्छ ?
मुख्यसचिवबाट सेवा निवृत्त भएपछि प्रशासनिक कुरा सम्झन्न चाहन्न । आजभोलि म पूर्णरुपमा साहित्यिक भएको छु । कहिलेकाहीँ विज्ञका रुपमा सरकारका विभिन्न तहबाट सुझाव सल्लाहका लागि बोलावट हुन्छ । तर, उहाँहरुलाई म प्रेमपूर्वक अस्वीकार गर्छु । ती कार्यक्रममा जानु भनेको, यहाँ यो भएन, यो ठीक छैन भन्न नै जाने हो । ६० कटेपछि त्यस्ता कुरामा रुची नै लाग्न छाड्यो । बरु साहित्य साधना गर्यो, त्यसमै आनन्द आउँछ ।
तैपनि यति चाहिँ भनिदिनु पर्यो, तीन प्रधानमन्त्रीमध्ये काम गर्दा सबैभन्दा बढी आनन्द कोसँग आयो ?
निश्चय नै गिरिजाप्रसाद कोइरालासँग बढी निकट थिएँ । उहाँ मलाई छोरा जत्तिकै स्नेह र विश्वास गर्नुहुन्थ्यो । मैले लगेका कुनै पनि प्रस्ताव उहाँले अस्वीकार गर्नुभएन । मेरा बुवा पनि सानैमा बित्नुभएका कारण उहाँको स्नेहले मलाई पितातुल्य लाग्दथ्यो । त्यसैले हाम्रो सम्बन्ध धेरै गहिरो थियो ।
उसो त सूर्यबहादुर थापा पनि कर्मचारीतन्त्रलाई साह्रै विश्वास गर्नुहुन्थ्यो । तर, मुख्यसचिवका रुपमा उहाँसँग काम गर्न पाइनँ ।
कर्मचारीतन्त्रको स्वतः बढुवासम्बन्धी निर्णय तपाईंका पालामा भयो । जसको ठूलो विरोध पनि भयो । यसमा कुनै टिप्पणी गर्न मन लागेको छ ?