काठमाडौं- रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई धम्की दिँदै मोटो रकम असुल्न खोज्ने कार्यमा सोही गाउँपालिकाकी उपाध्यक्षको संलग्नता देखिएको छ।
प्रहरीले उपाध्यक्ष दिपशिखा न्यौपाने दाहालको संलग्नता देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ। प्रारम्भिक अनुसन्धानमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको विवादमा यस्तो घटना भएको निष्कर्ष निकाल्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेको जनाएको छ।
प्रहरीले उपाध्यक्ष दाहालसँगै उक्त प्रकरणमा संलग्न भएको भन्दै तत्कालीन नेकपा (माओवादी)का नेता 'सन्दीप' भनिने ध्रुव कार्की र सोही गाउँपालिकाको ७ नम्वर वडाका वडाअध्यक्ष सुवास बोहोरालाई पनि पक्राउ पूर्जी जारी गरेको छ।