विश्वको एक चौथाइ जनसंख्या पानी सुकेर जाने खतरामा रहेका देशमा बाँचिरहेको विशेषज्ञहरूले चेतावनी दिएका छन्।
सन् १९६० यता पानीको खपत विश्वमा दोब्बर बढेको छ। वर्ल्ड रिसोर्सेस इन्स्टिच्युट (डब्ल्युआरआइ)को अध्ययन अनुसार यसले विश्वभरिका पानीका स्रोत सुक्दै गएको छ।
भारत, इजरायल, बहराइन, पाकिस्तान र बोतस्वाना लगायत १७ ओटा देशमा उपलब्ध ८० प्रतिशत पानी प्रत्येक वर्ष खपत हुने गर्छ। ती देशमा पानीको चरम अभाव सिर्जना भइरहेको छ।
त्यसबाहेक ४४ देशमा पानीको उच्च अभाव छ। ती देशमा विश्वको एक तिहाइ जनसंख्या बस्दछ। अर्थात उपलब्धमध्ये औसत ४० प्रतिशतभन्दा धेरै पानी प्रत्येक वर्ष प्रयोग गर्ने गरिएको छ। पानीको बढ्दो अभाव मानव जीवन र जीविकामा गम्भीर खतरा भएको डब्ल्युआरआइले सावधान गराएको छ। समाधानका उपाय तत्काल नगरिए परिस्थिति अझ गम्भीर हुनेछ।
“पानीको अभाव कसैले कुरा नगरेको सबैभन्दा ठूलो संकट हो। खाद्य असुरक्षा, द्वन्द्व र आप्रवासन, र आर्थिक अस्थिरता यसकै परिणाम हो,” डब्ल्युआरआइका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. एन्ड्रयु स्टियरले भने।
पानीको चरम अभाव भएका देशहरू
१. कतार
२. इजरायल
३. लेबनान
४. इरान
५. जोर्डन
६. लिबिया
७. कुवेत
८. साउदी अरब
९. इरिट्रिया
१०. युनाइटेड अरब इमिरेट्स
११. सान मरिनो
१२. बहराइन
१३. भारत
१४. पाकिस्तान
१५. तुर्कमेनिस्तान
१६. ओमान
१७. बोतस्वाना
डे जिरो
भारतको छैठौं ठूलो शहर चेन्नईको पानीको स्रोत करिब करिब सुकिसक्यो। चेन्नई अब “डे जिरो” नजिक छ। यो यस्तो अवस्था हो जतिबेला धारामा पानी आउने छैन। शहरको पानी सुकेको औपचारिक रूपमै घोषणा हुनेछ।
सन् २०१६ को मनसुनपछि भिरानाम सुक्दा शहरका दशमध्ये तीन जना खानेपानीको अभावमा थिए। पछिल्ला वर्षहरूमा थुप्रै शहर “डे जिरो”को जोखिममा छन्। सन् २०१८ मा दक्षिण अफ्रिकाको किप टाउनले बडो मुश्किलले संकट पार गरेको थियो।
मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरू तातो जलवायु र पानीको न्यून आपूर्तिका कारण विशेष जोखिममा छन्। बढ्दो मागले यी क्षेत्रका थुप्रै देश पानीको चरम अभावमा छन्। समग्रमा न्यून अभाव भएका देशमा पनि पानीको चरम अभाव भएका केही स्थान हुनसक्ने डब्ल्युआरआइको प्रतिवेदनले चेतावनी दिएको छ।
अमेरिका डब्ल्युआरआइको सूचीमा राम्रै स्थानमा छ। तर न्यू मेक्सिको राज्यमा पानीको चर्को अभाव छ।
संयुक्त अधिराज्यमा पनि पानीको समस्या छ। लन्डनको शताब्दीयौं पुरानो पानी वितरण प्रणालीबाट दैनिक तीन अर्ब लिटर पानी चुहावट हुन्छ। शहरमा तीव्र बढ्दो जनसंख्यालाई यो पूर्वाधारले धान नसक्ने भय पनि बढ्दै गएको छ।