बिहानैदेखि निरन्तर वर्षा भइरहेको थियो। रोकिने पनि छाँट थिएन। वानेश्वर पुग्दा हल्का भिजियो पनि। यो गर्मीमा चिसो चिसो अनुभूति। संसद भवन नजिकैको एक रेष्टुरेन्टमा कफी पिउँदै गर्दा उनले सुनाइन- ‘मसँगै बसेर चिया खाने मानिसहरुसँग मेरा परिवारका सदस्यहरुको सँगै चिया पिउने हिम्मत समेत छैन। मसँग यहाँ बसेर चिया पिउनेहरु भने जिल्लामा मेरा परिवारसँगै चिया पिउन हिच्किन्छन्।’
उनका कुराले नेपाली समाजको कुरितालाई कोतरिरहेको झै लाग्यो।
‘बझाङका महिलाहरु एकातिर छाउ, अर्कातिर जातीय विभेदमा छन्,' केही सम्झिँदै भनिन्, 'अनि वर्गीय विभेद पनि। तेहोरोमा चपेटामा।’
यो झरीमा कफीसँगै देशको दृश्यलाई शब्दमा प्रकट गरिरहेकी अरु कोही होइनन्,
नाम : आशा विक
पद : सांसद
घर : बझाङ
बझाङबाट समानुपातिक सांसद रहेकी आशा विकका कुरा सुन्दा विभेदको जरो जनस्तरसम्म कसरी गढेको छ प्रस्ट हुन्छ। जातीय विभेद र महिलाका मुद्दामा लामो समयदेखि वकालत गर्दै आएकी विकले यसपटकको भेटमा आफ्नै जीवनका केही पाटाहरु सेयर गरिन्।
‘मध्यम वर्गीय परिवारमा जन्मिएँ। दुई छाक खानका लागि त संघर्ष गर्नु परेन, जति जातीय विभेदसँग गर्नुपर्यो,’ उनको बोलीमा एक किसिमको आत्मविश्वास सुनिन्छ।
जातीय विभेद भए पनि मानिसले त्यसलाई विभेदका रुपमा बुझ्न थालेको धेरै भएको छैन। पुस्तैदेखि स्वीकार्दै आएकाले विभेदलाई विभेद देख्न लामो समय कुर्न पर्यो।
जातीय विभेदले उनको मन चाहिँ कहिले कुँडियो त?
‘विद्यालयमा विभिन्न कार्यक्रम हुन्थ्यो। सरस्वती पुजा हुन्थ्यो। हामी छुट्टै बस्नुपर्ने। हामीले पूजा पनि गर्न नपाउने। प्रसाद पनि छुट्टै खानुपर्ने,’ चेतनाका लागि शिक्षालयमा पुग्दाका क्षणहरु उनको स्मृतिमा सल्बलाए, ‘साथीहरुसँग खेल्दा खाजा छोइयो भने आफैँले खानुर्थ्यो।'
यस्तैयस्तै घटनाले उनको बाल मस्तिष्कमा गहिरो प्रभाव पार्यो। त्यतिबेलैदेखि उनलाई लाग्न थाल्यो - मानिस मानिसबीच विभेद हुनु कसरी राम्रो? प्रश्नले विद्रोहको संकेत गर्छ। उनलाई पनि लागू भयो त्यही कुरा।
रुपन्देहीमा जन्मिएकी आशाले एसएलसी दिँदैगर्दा नै विभेदको प्रतिवाद गरिन्। चेतनशील बनाउने गुरुहरु नै जब उनीसँगै बसेर खाजा खान अन्कनाए, उनलाई चोट पर्यो। एसएलसी दिन गुल्मी पुगेकी आशाले त्यहाँ झनै चर्को जातीय विभेदको अनुभव गरिन्।
‘टेस्ट परीक्षा दिएपछि विदाइ कार्यक्रम थियो। कार्यक्रम सकिएपछि खाजा खाने बेलामा मलाई पढाउनुभएको शिक्षक पनि सँगै हुनुहुन्थ्यो,' आशाले भनिन्, 'उहाँले सँगै बसेर खाजा खान आनकानी गर्नुभयो। एक जना शिक्षकले त मलाई नै अर्को बेन्चमा बस्न आग्रह गर्नुभयो।'
त्यतिखेर उनलाई नमीठो गरी चित्त दुख्यो। अनि फेरि उनको मनमा प्रश्न उठ्यो - विद्यालयमा पठाउने शिक्षकले त सँगै बसेर खाजा खान असहज माने भने कस्तो समाजको कल्पना गर्ने?