‘तोड्यौ नाता सिन्दुरको धुलाको, गर्यौ संगत म भन्दा ठूलाको, फाटो रूमाल सिउन सकिनँ....’
यो गीत गाउने गायिका सुभद्रा पौडेलको बास्तविक जिवनमा मिल्दोजुल्दो छ।
गायिका शुभद्रा पौडेल अपाङ्ग छन्। दुबै खुट्टा नभए पनि सुमधुर स्वरकी धनी पौडेलले लोक, आधुनिक गीतमा स्वर भरिसकेकी छन्।
‘जीवन कति बेला उदेग लागेर आउँछ, बाच्नै मन लाग्दैन। तर, यो स्वार्थी संसारबाट हारिसकेको छु,’ पौडेलले बिएल नेपालीसँग कुरा गर्दै भनिन्।
२ कक्षा पढ्दै गरेको आफ्नो छोरा पनि आफ्नो साथमा नभएको अहिले उनी बिल्कुल एक्लो महशुस गर्छिन्। ‘२ कक्षा पढ्ने मेरो मुटुको टुक्रालाई पनि हप्तामा कहिले काही मात्र भेट्न जान्छु। आफूले जन्म दिएको बच्चासमेत आफूसँग नहुँदा मन साह्रै कुँडिन्छ, क्षतविक्षत हुन्छ,’ उनले भनिन्, ‘तर के गरौं कहाँ जाउँ? मलाई राम्रोसँग थाहा छ मेरो छोरो जुन दिन मलाई बुझ्ने छ अनि आमा भन्दै खोज्नेछ।’
पौडेल ८ महिनाको उमेरमा शारीरिक अपाङ्ग भएकी हुन्। आमासँग सुतेकी उनी कति बेला अगेनामा परिन् थाहै भएन।
‘किन म अगेनामा परेर पनि बाचेँ होला? जलेर मरेको भए पनि हुन्थ्यो। कमसेकम अरूको तिरस्कार त पाउँने थिइनँ,’ उनले भावुक हुँदै विगत सम्झिइन्,‘शारीरिक रूपमा अपाङ्ग नभएको भए सायद मेरो श्रीमान र बच्चा म सँगै हुन्थे होला।
याे पनि पढ्नुहाेला।
हिसामा परेका महिलाका लागि समर्पीत सुमित्रा
२०४४ सालमा सुभद्रा पौडेल जन्मदा अरू बच्चा जस्तै स-कुशल थिइन्। तर, ८ महिना पछि अगेनोमा परेकी उनका दुबै खुट्टा जले। उनको दायाँ खुट्टाको घुँडाभन्दा माथिको भाग र बायाँ खुट्टा कुर्कुचाभन्दा तलको भाग काटिएको छ।
आफू अगेँनामा परेपछि आमाले उनलाई काठमाडौंको वीर अस्पतालमा लगेर उपचार गराइन्।
पैसा अभावमा अस्पतालले भर्ना नलिएको र आमा कुल कुमारीले पाएको दुःख र खुट्टाको अपरेशन गर्दामा समय सधै सम्झिरहने बताइन्।
गाउँका साथीभाइहरू स्कुल गएको देखेपछि उनलाई पनि स्कुल जान मन लाग्थ्यो रे। तर, आफू अपाङ्ग अनि घरबाट स्कुल पुग्नै ३ किमी जति टाढा भएकाले जान सक्दैन थिइन्।
‘पानी पाएँ तीन लोटा खानेथेँ, साथी पाए म स्कुल जानेथेँ...., सानै उमेरमा यो कुरा उनले गीतमार्फत बाबालाई सुनाइन्।
त्यसपछि छोरीको पढ्ने इच्छालाई बाबाले पुरा गर्ने भएछन्। उनी ६ वर्षको उमेरमा पन्चासे सामुदायिक विद्यालयमा भर्ना भइन्।
कहिले वैशाकी टेकेर स्कुल जान्थिन् भने कहिले बुवाले काँधमा बोकेर स्कुल छोड्न जान्थे।
साथीले त्यति माया गर्दैन थिए। ‘लङ्गडी आइ...’ भनेर धेरैले गिज्याउँथे। तर पनि केही साथीहरूले उनलाई सहयोग समेत गर्थे।
यस्तै स्कुल जाने आउने क्रममा पञ्चासे खोलाले बैशाखीसँगै उनलाई पनि बगाएको थियो। छिमेकीले बचाएर ल्याएछन्।
स्कुल जाने क्रममा बैशाकी भाँचिएर बिच बाटोमै अलपत्र परेको याद अझै आइरहेको छ। यस्तै दुःख गरेर पाँच कक्षासम्म उनले गाउँमै पढिन्।
६ दिदीबहिनीकी कान्छी छोरी उनलाई जति ठूलो भयो त्यति स्कुल जान आउन गाह्रो हुन थाल्यो।
त्यही बेला काठमाडौंमा बसेका दाजु हरिकृष्णले गाउँमा बहिनीलाई गाह्रो भयो भनेर काठमाडौं ल्याउने भए।
दाजु काठमाडौंमै सानो तिनो काम गरेर बसेका थिए। काठमाडौं आएसँगै कलिलो बाल मस्तिस्कमा सपनाको कल्पना गर्न थालिन्। गाउँमा ५ कक्षासम्म पढेकी उनले काठमाडौं आएपछि तीन कक्षामा भर्ना हुनुपर्यो।
याे पनि पढ्नुहाेला।
अमेरिकी युवाहरुकाे हिन्दु धर्म प्रतिकाे माेह
सबै साथीजसरी उनी स्कुल जान्थिन्। त्यो बेला उनको खुसीको सीमा नै रहेन। उनी सपनामा कल्पनामा हराउन थालिन्।
स्कुलतिर कार्यक्रमहरूमा गीत गाउन थालेकी उनी सबैलाई उछिनेपछि म पनि अब केही गरेर देखाउँछु भन्ने लाग्यो। तर कोठामा दाजुका अगाडि गाउन डर लाग्थ्यो रे।
‘दाजुको अगाडि गाउन अफ्ठेरो लाग्थ्यो, त्यसैले कहिले बाथरूममा कहिले एक्लै भएको बेलामा गीत गाउने गरेको थिएँ,’ उनले भनिन्।
तर स्कुलमा गाएको एउटा गीति कार्यक्रममा फस्ट भएपछि सार्वजनिक भएछ। अनि दाजुले पनि गीत राम्रो रहेछ त किन नगाएको गाउँ भनेर हौसला दिएपछि उनलाई गीत गाउन मन लाग्यो।
दाजुकै कोठामा बसेर स्कुल जाने आउने गर्थिन्। तर केही समय पछि नै दाजु निकै ठूलो बिरामी परे। त्यसपछि उनलाई के गर्ने कता जाने अन्यौल भयो।
त्यसपछि अपाङ्ग असाहय सेवा संघमा पुगिन्। त्यहाँ उनले शारीरिक रूपमा अपाङ्ग र दृष्टिविहिनहरू नयाँ साथी भेटिन्। उनी त्यहाँ खाना पकाउने र साना साना अपाङ्ग साथीहरूको लुगासमेत धोइदिने गर्थिन्। त्यहाँ पनि उनी सबैको प्यारी थिइन्।
१२ कक्षा पास गरेपछि उनको जीवनले नयाँ मोड लियो। नुवाकोटकै बेलगडीकोटका प्रकाश तिमल्सिनाले उनलाई अति मन पराए। उनीसँग बिहे गर्न राजी भए।
‘सुरूमा हेराहेर भयो,’ उनले भनिन्,‘म जस्तो शारीरिक अशक्तलाई तपाईं जस्तो साङ्गले किन बिहे गर्न खोज्नु हुन्छ? म तपाईंको लागि बोझ बन्न चाहन्नँ,’ उनले त्यतिबेलाको स्मरण गर्दै भनिन्।
तर केटाले मरिहत्ते गरेपछि दाजुले घरमा कुरा पुर्याएछन्। त्यसपछि आमा बुवाले बिहेको लागि उनलाई दबाब दिन थाले।
अनि २०६३ साल वैशाख २९ गते काठमाडौंकै गुहेश्वरी मन्दिरमा परम्परागत रूपमा बिहे गरिन्। बिहे गरेपछि उनलाई घरमा नन्द आमाजुभन्दा पनि श्रीमानले बढी माया गर्थे। परिवार त्यागेर भए पनि उनले श्रीमतीलाई सहयोग गर्थे। गाह्रो अफ्ठ्यारो पर्दा लुगा पनि धोइदिन्थे।
बिहे गरेको ७ वर्षसम्म पनि बच्चा नभएपछि घरमा सासु र नन्दले बच्चा जन्माउन दबाब दिन थाले।
आफूसँग केही इलम नभएकोले तत्काल बच्चा नजन्माउने उनीहरूको योजना थियो। तर, धेरै दबाब पछि उनी गर्भवती भइन्।
पेटमा बच्चा भएपछि उनी काम गर्न सक्ने स्थितिमा थिइनन्। एक त आफू अपाङ्ग अर्को तर्फ गर्भवती। बाथरूममा बसेपछि उठ्नै नसक्ने र उठेपछि बस्नै नसक्ने अवस्थामा थिइन्। तर, सासुले त्यतिखेर उनलाई धेरै अल्छी भइ छोरी नै पाउने भइ भनेर गाली गरिरहन्थिन्।
२०७० सालमा काठमाडौंको प्रशूति गृहमा छोरो जन्माइन्। उनले अपरेशन गरेरै छोरा जन्माइन्।
त्यसपछि पनि घर व्यवहार ठीकै अगाडि बढिरहेको थियो। २०७२ सालको महाभूकम्प पछि उनी र श्रीमानको सम्बन्धमा दरार आउन थाल्यो।
‘तँ भनेर कहिल्यै नबोलाउने श्रीमानले शारीरिक अपाङ्ग तँ होस् तँलाई म पाल्न सक्दिनँ’, भनेर कुटपिट गर्न थाल्नुभयो’, उनले भनिन्,‘म शारीरिक अपाङ्ग भए पनि सबै काम गर्थेँ। देवर निकै अल्छी थिएँ। रूममै चिया पुर्याउनुपर्थ्यो। नन्दहरूले केही काम सघाउँदैन थिए सबै काम मैले गर्नुपर्थ्यो।’
त्यसपछि बिस्तारै श्रीमानले उनको केयर गर्न छोडे। पहिले पहिले जस्तो सुकै पानी पे पनि भिजेरै घर आउने उनका श्रीमान बिस्तारै बिस्तारै राति घरै आउन छाडे।
कहिले काही हप्तौ बाहिर बस्ने गर्थे। सुभद्राले किन घर नआउनुको भएको भनि सोध्दा विभिन्न अपशब्दमा प्रयोग गरी उनलाई गाली गर्दै म जे सुकै गरौ तँलाई के मतदब भन्थे।
‘तँ म सँग दौडन सक्दिनस्, सँगै कतै जान सक्दिनस्, अनि म अर्को केटीसँग बिहे गर्न जाँदैछु तेरो स्याहार गरेर बस्न सक्दिनँ,’ श्रीमानले उनलाई भनेका थिए।
याे पनि पढ्नुहाेला।
कम्बाेडियाकाे एउटा मन्दिर जहाँ वर्षमा २० लाख बढी पर्यटक आउँछन्।
उनले तँ मसँग जीन्दगी बिताउन सक्दिनस्। म खोलामा हाम फाले भने त म सँगै हामफाल्न सक्दिनस्, म सगरमाथा चढे भने तँ म सँगै चढ्न सक्दिनस्। म दश मिनेटमा पुग्ने ठाउँ तलाई २ घन्टा लाग्छ। म कसरी तलाई डोहोर्याएर हिँडौ, कसरी तेरो दिशा पिसाब सोहोरेर बसौं। मेरो पनि आफ्नो लाइफ छ। मेरो पनि आफ्नो जीन्दगी छ म अब अर्को बिहे गरेर नयाँ जीन्दगी सुरूवात गर्न चाहन्छु भनेका थिए।
त्यसपछि उनले धेरै हार गुहार गरेर सम्झाउने कोशिश गरिन्। तर पनि उनको मन पग्लिएन।
अन्ततः १३ वर्षको वैवाहिक सम्बन्धबाट एक्लिन बाध्य भइन्। बाँच्ने साहारा आफ्नो केही भएन।
‘जिन्दगीमा अब आफ्नो भन्नु कोही भएन, जन्म दिएको मेरो प्राण प्यारो छोरालाई होस्टलमा राखेको छ। श्रीमानले डिभोर्स मागिरहेको छ,’ उनले भनिन्।
‘नौ महिनासम्म पेटमा राखेर अप्रेसन गरेर जन्माएको छोरोलाई म हप्ता दुई हप्तामा त्यो पनि टिफिनको बेला मात्र भेट्न पाउँछु। नरमाइलो लाग्छ,’ उनले भनिन्, ‘जन्म त दिएँ। तर, काखमा लिने, खेलाउने, मोइ खाने अधिकार पाइन। मलाई थाहा छ, मेरो छोरा एक दिन अवस्य मलाई सम्झिएर आउने छ।’
हाल उनी अदालतको निर्णयको प्रतिक्षामा छन्। उनले हालेको मानो चामलको मुद्दा वकिल मेजर थापाले सहयोग गरिरहेको उनले बताइन्।
आफ्नै लय र शब्दको गीत चाँडै बजारमा ल्याउन लागेकी गायीका सुभद्राले अहिलेसम्म ८ वटा गीतमा स्वर दिएकी छन्।
उनी तनाव र पीडामा रहेको समयमा केहीले सहयोगको आश्वासनमा कुदृष्टिलेसमेत हेरे।
‘एउटा मान्छेले मलाई १० हजार रूपैयाँ सहयोग गर्छु भनेर गेष्ट हाउसमा बोलाएर म माथि कुद्रृष्टीको प्रयास गरे, कसो कसो गरेर म बचेर आएँ’, उनले भने।
काठमाडौंमा ५ हजार रूपैयाँको कोठाभाडामा दाजुको छोरासँग बस्दै आएकी उनलाई अहिले देश विदेशमा रहेका साथीभाइ र माइती घरको सहयोग गरिरहेका छन्।
‘जसो त्यसो चलिरहेको छ,’ उनले भनिन्, ‘तपाईंहरूको साथ र सहयोग पाएँ भने केही गर्छु। अगाडि बढ्छु। मेरो शारीरिक रूपमा खुट्टा मात्र कमजोर छ। बाँकी केहीमा कमजोरी छैन। जुनसुकै क्षेत्रमा अगाडि बढ्न सक्छु।’
याे पनि पढ्नुहाेस।
निर्मला हत्याकाण्ड प्रकरणका जिउँदा शहिद