नेपालमा सुनको भाउले बनायो नयाँ कीर्तिमान, तोलाको ६५,८०० !

आकासियो सुनको भाउ - तोलाको ६५,८०० ! तस्बिर : एजेन्सी

नेपालमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । 

शुक्रबार नेपाली बजारमा छापावाला सुन तोलाको ६५ हजार आठसय पुगेपछि यस्तो कीर्तिमान बनेको हो ।  बिहीबार तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

यसअघि गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो । शुक्रबार त्यही कीर्तिमान तोडिएको हो । 

आखिर नेपाली बजारमा सुनको भाउ किन यसरी आकासियो त ? ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । यसैको असर नेपालीमा बजारमा परेको हो, नेपाली सुनचाँदी ब्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरतन शाक्य भन्छन् । उनका अनुसार अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा अमेरिकी सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको हो ।

तर, नेपालको सुनचाँदी बजारका बारेमा जानकारी राख्ने एक अर्थविद  भन्छन्- अन्तर्राष्ट्रिय बजारमा केही भाउ बढेर पनि नेपालमा सुनको भाउ बढेको हो । तर, त्योभन्दा पनि बढी नेपालमा तस्करीको सुनमा कडाइ हुने बित्तिकै दुई नम्बरी बजारमा सुनको अभाव हुँदा सुनको भाउ बढ्ने गर्छ । ' 

उनले सुनको दुई नम्बरी बजार भनेर नेपालबाट भारततिर हुने सुन तस्करीलाई इंगित गरेका हुन् । उनी भन्छन्- 'भारतमा नेपालमा भन्दा सुनको भाउन महंगो छ । जबसम्म नेपाल र भारतमा सुनको भाउ समान हुदैन तबसम्म यो दुई नम्बरी बजार चल्छ र नेपालमा अस्वभाविक रूपमा भाउ बढिरहन्छ ।' 

प्रकाशित मिति: : 2019-08-02 12:11:59

प्रतिकृया दिनुहोस्