आईसीसीको टी–२० वरियतामा नेपाल ११ औं स्थानमा यथावत

तस्बिरः एजेन्सी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले सार्वजनिक गरेको टी–२० क्रिकेटको विश्व वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ।

नेपाल २ सय १ रेटिङ अंकसहित वरियताको ११ औं स्थानमा यथावत रहेको हो ।

हालै सिंगापुरमा सम्पन्न टी–२० विश्वकपको एसियाली छनोटमा कतार र सिंगापुरसँग पराजित भएको नेपालको रेटिङ अंक ११ ले घटेको छ ।

अघिल्लो वरियतामा नेपालको रेटिङ अंक २ सय १२ रहेको थियो। यो २ हारले नेपालको ११ अंक गुमेको हो।

१४ खेल खेलेको नेपालले २८१८ अंकसहित २०१ रेटिङ पाएको हो। विश्वकप छनोट अघि नेपालले मलेसियाविरूद्धको २ खेलको टी ट्वान्टी सिरिज क्लिन स्वीप गरेको थियो।

वरियताको १२ औ स्थानमा रहेको स्कटल्याण्डको १ सय ९९ र तेह्रौ स्थानमा रहेको नेदरल्याण्डसको १ सय ९७ रेटिङ अंक रहेको छ।

टी–२० को विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ। ईङल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छन्।

भारत, न्युजिल्याण्ड, अफगानिस्तान, श्रीलंका, वेष्ट ईण्डिज र बंगलादेश क्रमश पाँचौदेखि १० औं वरियतामा रहेका छन्। 

प्रकाशित मिति: : 2019-08-02 08:31:55

प्रतिकृया दिनुहोस्