न खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा । तर पछिल्लो ९/१९ वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर पदकहरु जितेकी छु । हारको अनुभव पनि कम छैन ।
हारमा बग्ने आँसु र जितमा निस्कने मुस्कान खेलकुद जीवनको घामछाया नै हुन् । हार्दा नआत्तिनु र जित्दा नमात्तिनुचाहिँ महत्वपूर्ण कुरा लाग्छ मलाई । हरेक खेलाडीले अनुभव गर्ने सबैभन्दा ठूलो दबावको क्षण भनेको निःसन्देह देशको प्रतिनिधित्व गरेर खेल्दा नै हो । देशका लागि पदक जित्दाको खुशी र गौरव अवर्णनीय नै हुन्छ । त्यतिबेला खेल जीवनका सारा दुःखहरु भुलिन्छ । हार्दाको पीडाको त के कुरा गर्ने… यस्ता अनुभव त सुनाउने छु नै, सुरुमा चाहिँ आफूलाई भाग्यमानी र अभागी एकैसाथ ठानेको इन्चोनको कथा भन्छु है !
****
कराँते खेल्न थालेको छोटो अवधिमा नै मैले एसियन गेम्स खेल्ने मौका पाएँ । तर निकै तनावका बीच ।
यो २०१४ को कुरा हो । दुईवटा कराते संघ भएका कारण दुवै तिरबाट खेलाडीहरुको नाम गएको रहेछ । ६८ मुनिको तौल समूहमा मेरो र गंगा अधिकारीको नाम गएछ । एउटा संघबाट छनोट भएका खेलाडीहरु ट्रेनिङ गर्न जापान गए । अर्को संघबाट परेकी विमला तामाङ र मचाहिँ बालाजु डोजोमा नै अभ्यास गरिरहृयौं ।
इन्चोन जाने हो कि होइन टुंगो थिएन । कहिले त ‘आ, अब खेल्दिनँ’ भनेर पनि नसोचेको होइन । तर हामी दुवैको एग्रिगेसन कार्ड आयो । कोरिया पुग्यौं । तर खेल्ने-नखेल्ने अनिश्चित नै थियो ।
मेरो गुरुले भन्नुहुन्थ्यो, मैले खेल्न पाउँछु । गंगा दिदीको गुरुले भन्नुहुन्छ, गंगाले खेल्न पाउँछिन् । उहाँ ११ औं सागको गोल्ड मेडलिष्ट पनि हुनुहुन्थ्यो । तर टाइसिट आउँदा मेरो नाम आयो । मैले एसियन गेम्स खेल्ने भएँ । तर राम्रो भएन ।
होस् पनि कसरी ? अरु साथीहरु जापान गएर अभ्यास गरिरहँदा म भने नेपालमै थिएँ । त्यसमा पनि पहिलो भेट नै चार पटककी विश्व च्याम्यिनसँग भयो । चिनियाँ खेलाडीबारे जानकारी थिएन । म सीधै नकआउट भएँ ।
लामो विवादबीच खेल्न पाएको खुसीलाई नकआउट हुँदाको पीडाले तुरुन्तै ओझेल पारिदियो । मसँगै इन्चोन गएकी विमलाले चाहिँ कास्य पदक जितिन् । नेपाल पदकविहीन हुनबाट जोगियो । यसले मलाई पनि खुशी दिलायो ।
इन्चोन जानुअघि मैले २०१४ मा दिल्लीमा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा गोल्ड मेडल जितेको थिएँ । प्रतियोगितामा आठ देशको सहभागिता थियो । ६८ केजीमुनि भएको प्रतिस्पर्धाको सेमिफाइनलमा भारतलाई पराजित गरेँ । फाइनलमा अफगानिस्तानलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएँ । यो नै अन्तर्राष्ट्रियस्तरमा पाएको गोल्ड मेडल हो मेरो ।
****
घर मेरो सिन्धुली । परिवारमा बाबा, सानीमा, दाजु भाउजू अनि भाइ र बहिनी छन् । आमा पहिल्यै बित्नुभयो… (आमाको कुरा गर्दा उनले आफूलाई सम्हाल्न सकिनन् । निकै बेर रोइरहिन् ।)
सानोमा निकै मोटी थिएँ । सबैले मोटी, मोटी, भन्न थालेपछि तौल घटाउनकै लागि कराँते सिक्न थालेँ । त्यतिबेला म १८-१९ वर्षको भइसकेकी थिएँ ।
कराँते खेल्न दाइले निकै हौसला दिनु भयो । संगिना वैद्य यस्तो हो, उस्तो हो, भनेर सुनाइरहनु हुन्थ्यो । तँ पनि संगिना वैद्य जस्तो खेलाडी बन्नुपर्छ भनिरहनु हुन्थ्यो ।
तर बुवाले भने हामीले कराँते खेलेको मन पराउनु हुन्नथ्यो । छोरीको हातखुट्टा भाँचियो भने भोलि कसले बिहे गर्छ भन्ने लाग्थ्यो होला ।
एउटा घटना सुनाउँछु । स्कुलमा दाइहरु फुटबल खेलिरहनु भएको थियो । हामी हेरिरहेका थियौं । खोई कताबाट हो बुबा आइपुग्नु भएछ । बुबालाई देखेपछि दाइहरु भाग्नुभयो । उहाँले त गोलपोष्ट बनाउन गाडेको बाँस निकालेर नजिकैको खोलामा बगाइदिनुभएछ ।
बुबाको असन्तुष्टिका बाबजुद मैले कराँते खेलिरहेँ । किनभने झण्डै ६०/६१ केजीकी म ४९ केजीमा झरिसकेको थिएँ । दाइको साथ थियो । मेरो खेल पनि राम्रो भइरहेको थियो । कमल गुरुले फाइट खेलाउनु हुन्थ्यो । म केटाहरुलाई पनि जित्थेँ । मेरो किकमा निकै पावर थियो । दाइहरुले अहिले पनि भन्नुहुन्छ, तिमीले त कस्तो पावर हान्थ्यौ । अझै याद छ । सिन्धुलीमा रमाइरहेको मलाई काठमाडौंसम्म ल्याउन भने भ्याली प्रतियोगितामा मेरो प्रदर्शनले ठूलो भूमिका खेल्यो । मैले निकै राम्रो गरेपछि गुरु र सबैले काठमाडौं गएर खेल, राम्रो हुन्छ भन्नुभयो । उहाँहरुकै सल्लाहअनुसार म बालाजु डोजोमा आएँ । सुरुमा त मलाई निकै गाह्रो भएको थियो, विस्तारै बानी पर्यो । खेल निखारिँदै गयो । मोटोपन घटाउन कराँतेमा लागेकी ममा खेलाडी बन्ने रहर जाग्दै आयो । बालाजु डोजोमा आवद्ध भएपछि मैले कमलपोखरीमा भएको भ्याली च्याम्पियन कराँते प्रतियोगिता खेलेकी थिएँ । हुन त त्यसबेला डोजोमा मभन्दा राम्रो एक जना खेलाडी थिइन् । तर मैले जिद्दी गरेपछि गुरुले दुवैलाई खेल्न दिनुभयो । मैले उनलाई नै पराजित गर्दै गोल्ड मेडल जितेँ । त्यसपछि मलाई जित्ने बानी पर्न थाल्यो ।
****
मैले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेकी थिएँ । त्यतिबेला आफ्नै कारण हार्न पुगेँ । मेरो स्कोर हाई थियो, तर पावर लागेर आउट भएँ । तेस्रो भएँ ।
मैले सातौं राष्ट्रिय खेलकुद पनि खेलेँ । फाइनल म्याचमा विपक्षीमाथि आक्रमण गर्न नसकेपछि रजतमै चित्त बुझाएँ ।
आठौंमा भने यसअघि गरेको गल्ती दोहोर्याइनँ । स्वर्ण जितँे । त्यही सफलताको कारण अहिले म यहाँ छु । आठौंमा भाग्यले पनि साथ दियो जस्तो लाग्छ । ११ जना भएकाले पहिलो खेलमा बाई पाएँ । दोस्रो खेल प्रदेश एकसँग थियो । त्यो जितेँ । सेमिफाइनलमा एपीएफलाई हराएँ । फाइनलमा नेपाल आर्मीकी रिता कार्की मैनालीसँग भेट भयो । फेरि चुकेँ भने अरुले के भन्छन् जस्तो लाग्यो ।
सातौंको फाइनलमा गरेको गल्ती नदोहोर्याउने संकल्प गरेँ । सुरुमा उहाँले नै स्कोर बनाउनु भयो । मनमा लाग्यो, अब हार्ने भएँ, फेरि स्वर्ण गुम्यो । दिमागले भन्यो, अझै समय छ, जित्नुपर्छ । हार्दाको पीडा सम्झिएँ । जसरी पनि जित्नुपर्छ भन्ने लाग्यो र जितेँ पनि ।
हल तालीले गुन्जायमान भयो । यो नै मेरो राष्ट्रियस्तरको पहिलो स्वर्ण पदक थियो । स्वर्ण जित्दाको मज्जा बल्ल थाहा भयो । ध्रुवविक्रम (मल्ल) गुरुलाई फोन गरेर सुनाएँ । उहाँ निकै खुशी हुनुभयो । त्यसपछि दाजुभाइ र घरपरिवारमा फेान गरेँ ।
स्वर्ण पदक जित्दा कति खुसी मिल्छ, त्यो जित्नेहरुलाई मात्रै थाहा हुन्छ । मैले एउटा सपना पूरा गरेको थिएँ । त्यो खुसी अनुभव गरेको थिएँ ।