बेन्जिमाको ह्याट्रिकमा रियल सहज जित

तस्बिरः एजेन्सी

एजेन्सी । करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियल म्याड्रिड औडी कपमा तेस्रो भएको छ ।

बुधबार भएको खेलमा फेनरवाचीलाई ५–३ गोल अन्तरले हराउँदै रियल तेस्रो भएको हो।

प्रि–सिजनमा खराब नतिजा निकाल्दै आएको जिनेदिन जिदानको टिम रियलले सहज जित निकालेको हो।

रियलको जितमा करिम बेन्जामाले ह्याट्रिक गरे भने नाचो र मारियानो डियाजले एक एक गोल गरेका थिए । त्यस्तै फेनेरबाचेका लागि ग्यारी रोड्रीगोज, नाबिल डिरार र ओजान तुफानले एक एक गोल गरेका थिए ।

खेलको छैठौं मिनेटमा ग्यारी रोड्रिग्वेसको गोल गर्दै फेनेरबाचेले सुरूवाती अग्रता बनाएको थियो। तर, १२ औ मिनेटमा बेन्जिमाले गोल गर्दै खेल बराबरीमा ल्याए।

२७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियललाई २–१ को अग्रता दिलाए।

खेलको ३४ औं मिनेटमा नबिल दादरले गोल गर्दै पहिलो हाफसम्म खेललाई २–२ को स्थितिमा ल्याए ।

५३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै ह्याट्रिक पुरा गर्दै रियलले पुनः अग्रता लियो।

५९ औं मिनेटमा ओजान तुफानले गोल गर्दै खेललाई पुनः ३–३ को स्थितिमा ल्याएका थिए ।

खत्यान्त रोमाञ्चक खेलको ६२ औं मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै रियललाई ४–३ ले अगाडि बढाए।

७९ औ मिनेटमा मारियानो डियाजले गोल गर्दै रियललाई ५–३ को सहज जित दिलाए।

मुख्य खेलाडीले चोट बोकेपछि दबाबमा आएको रियललाई पछिल्लो खेलको नतिजाले केही राहत दिएको छ।

यस खेलमा जित हासिल गरेपनि रियलको टिममा प्रि-सिजन टुरमै समस्या देखिएको छ । रियलले यस अघि खेलेका इन्टरनेशनल च्याम्पियन्स क़प अन्तर्गतका ४ खेलमा कुल १२ गोल खाएको थियो भने केवल ६ गोल गरेको थियो । त्यस्तै आउदी कपमा समेत पहिलो खेल टोटनह्यामसँग १-० ले पराजित भएको थियो ।     

प्रि-सिजन टुरमा यस अघि बायर्न म्युनिख, एथलेटिको म्याड्रिड र टोटनह्यामसँग पराजित भएको थियो भने आर्सनलसँग बराबरी खेलेको थियो ।

प्रकाशित मिति: : 2019-08-01 07:05:39

प्रतिकृया दिनुहोस्