सिंगापुरको नेपाल र पिएनजीसँग त्रिकोणात्मक सिरिज खेल्ने योजना

सिंगापुर क्रिकेट संघ

काठमाडौं । नेपाललाई पहिलो पटक हराएर टी ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पहिलो पटक पुगेको सिंगापुरले नेपालसँग त्रिकोणात्मक सिरिज खेल्ने योजना बनाएको छ।

विश्वकप छनोटको ग्लोबल छनोट खेल्न युएई जानुअघि सिंगापुरले नेपाल र पपुवा न्यूगिनीसँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्ने योजना बनाएको हो।

सिंगापुरमा हुने त्रिकोणात्मक प्रतियोगिता सेप्टेम्बर महिनामा गर्ने सिंगापुर क्रिकेट संघले योजना बनाएको छ।

एसिया छनोटको उपाधि जितेपछि सिंगापुर क्रिकेट संघका कार्यकारी निर्देशक सान सान र संघका विकास अधिकृत अर्जुन मेनन र अरू पदाधिकारीले नेपाल र पपुवान्युगिनीलाई बोलाएर सिंगापुरमा त्रिकोणात्मक सिरिज गराउने प्रारम्भीक टुंगो लागेको सिंगापुरका सञ्चारमाध्यमले जनाएका छन्।

त्रिकोणात्मक सिरिज कुन मितिमा गराउने भन्ने निर्णय आइसिसिसँगको सहकार्यमा हुने विकास अधिकृत मेननले जानकारी दिए।

ग्लोबल छनोटको तयारी पनि हुने र राम्रो अभ्यास पनि हुने भएकाले नेपाल र पीएनजीलाई सिंगापुरमा बोलाएर त्रिकोणात्मक सिरीज गर्ने योजना बनाएको मेननले भने।

तर यसका लागि सिंगापुर क्रिकेटले आइसीसीसँग स्वीकृति लिइसकेको छैन। साथै नेपाली क्रिकेट टिम र पिएनजीलाई पनि औपचारिक निम्तो पठाएको छैन।

सिरिजका लागि नेपाल र पपुवा न्यूगिनीले खेल्ने नखेल्ने टुंगो छैन। सिंगापुर क्रिकेट एसोसियसनले बनाएको यो योजना प्रारम्भीक मात्र भएकाले अबको दुई साताभित्र औपचारिक निर्णय आउने भएको सिंगापुर क्रिकेट एसोसिएसनले जनाएको छ।

प्रकाशित मिति: : 2019-07-30 16:55:34

प्रतिकृया दिनुहोस्