काठमाडाैं, साउन १४ : गोर्खाकी २२ वर्षीया हिउँचुलीलाई केही महिना अघि फेसबुकमा अशोक अधिकारीको नामबाट ‘रिक्वेस्ट’ आयो। उनले प्रोफाइल खोलेर हेरिन्।
गाउँका अरु साथीभाइको पनि साथी रहेछ। एउटै जिल्लाको चिनेकै कोही होलान भन्दै उनले फेसबुक मित्रतालाई स्वीकार गरिन्। हिउँचुली र अशोक फेसबुक साथी बने।
त्यत्तिबेलै फेसबुकमा मेसेज आयो, ‘हेलो के छ?’
उनले पनि रिप्लाई दिइहालिन, ‘ठीक छ।’
कुराकानी हुँदै गयो। एक–अर्कासँग चिनाजान पनि भयो। दुवै एउटै जिल्लाका भएकाले घरपरिवार, गाउँघरका कुराकानी पनि हुन थाले।
त्यस्तैमा अशोकले सोध्यो, ‘मैले काम गर्ने ठाउँमा मान्छे चाहिएको छ। कोही काम गर्ने केटा भए भन्नु।’
हिउँचुलीले सोधिन, ‘केटामात्रै, केटीलाई छैन?’
अशोकले यसका लागि बुझुनुपर्छ भनेर त्यतिबेला टारे। त्यसको एक घण्टापछि मेसेज गरे, ‘तपाई काम गर्ने हो त? राम्रै पैसा दिन्छ।’
झापामा आयुर्वेद औषधालयमा काम रहेको र औषधी प्याकिङको काम गर्नुपर्ने उनले बताए। खान र बस्नसहित १६ हजार रुपैयाँ दिने अशोकले सुनाए।
हिउँचुली काठमडाौंको बाफलस्थित मसला उद्योगमा काम गर्थिन्। दिनभर काम गरेपछि महिनामा सात हजार जति पाउँथिन्। त्यसले कोठाभाडा तिर्नै पुग्थ्यो। उनलाई झापा जान मन लाग्यो।
त्यसपछि अशोक र हिउँचुलीले नम्बर साँटासाँट गरे। पहिले फेसबुकबाट मात्रै हुने गफगाफ अब फोनबाट हुन थाल्यो।
झापामा अन्तर्वार्ता दिनुपर्ने र काम चाहिँ काठमाडौंमै गर्नुपर्ने अशोकले सुनाए। उनी अन्तर्वार्ताका लागि झापा जान तयार भइन्।
यहि साउन ३ गते हिउँचुलीलाई लिन अशोक काठ्माडौं आए। साउन ४ गते दुवै झापातिर लागे। बसमा साँझ ५ बजे काठमाडौंबाट हिडेका उनीहरू अर्को बिहान ९ बजे ओर्लिए। अशोकले झापा पुगेको सुनाए।
उनले रातभरी सोचिन, ‘१६ हजार तलब पाए राम्रै हुन्छ। खर्च पनि चल्छ, छोरालाई पढाउन पनि पुग्छ।’ हिमचुलीले भनिन्, ‘अन्तर्वार्ता दिएपछि काठमाडौंमा जागिर पाए ठीकै छ, नत्र छोरालाई झापामै ल्याएर पढाउला।’
बसबाट ओलिएपछि अशोकले हिउँचुलीसँग पाँच हजार रुपैयाँ मागे। यो अन्तर्वार्ताका लागि चाहिने भन्दै मागेका थिए। अशोक बैंकमा गए, त्यहाँ के गरेर उनलाई थाहा छैन। फर्किँदासम्म पर्खेर बसिन।
बैंकबाट फर्केपछि हिउँचुलीले सोधिन, ‘दाइ, अब कति समय लाग्छ?’
‘नजिकै छ, अब १५ मिनेट जति लाग्छ,’ अशोकको जवाफ थियो।
बसपार्कबाट दुवैजना फेरि गाडी चढे। करिब १५ मिनेट जति हिडे। त्यसपछि अशोकलाई फेरि सोधिन, ‘कति समय लाग्छ?’
‘अब १५ मिनेट मात्र,’ अशोकले फेरि भने।
त्यसपछि उनले झोलाबाट मोबाइल झिकिन्। ‘बहिनीलाई फोन गर्न खोजे, नेटवर्क थिएन,’ हिउचुलीले भनिन्।
एनसेल र नमस्ते दुवै सिममा नेटवक नभएपछि उनले गाडी चालकलाई सोधिन्, ‘दाइ, यता फोनले काम गर्दैन?’
‘बहिनी, इन्डियामा त नेपालको सिमले काम गर्दैन नि,’ गाडी चालकले भने।
त्यसपछि उनी झस्किइँन। डराइन पनि।
‘यो भारत हो र!’ हिउँचुलीले यस्तो भन्ने वितिक्कै सबैले मुखामुख गरे। उनले आफू भारत नभएर झापा आएको सुनाइन्। त्यसपछि गाडी चालक र अन्य यात्रुले अशोकको चाल थाहा पाइहाले।
हिउँचुलीले थपिन, ‘मलाई त झापामा काम लगाइदिने भन्दै ल्याएको हो।’