राति गाडी कुदाउँदा हेडलाइट 'हाइ बिम' मा राख्नुपर्छ। सधैं 'लो बिम' मा राख्यो भने टाढा देखिन्न। गाडी तीव्र गतिमा छ भने त दुर्घटनाकै डर हुन्छ। अर्थतन्त्र त्यस्तै हो। तीव्र दरमा अर्थतन्त्र वृद्धि भइरहेको छ भने झन् टाढा हेर्नैपर्छ। ताकि, अगाडि दुर्घटना नहोस्।
नेपालले पछिल्ला तीन वर्षमा लगातार ६ प्रतिशतभन्दा धेरैको आर्थिक वृद्धिदर हासिल गरेको छ। लगातार ३ वर्ष यति उच्च आर्थिक वृद्धिदर भएको इतिहासमै पहिलोपटक हो। आउने केही वर्ष पनि उच्च नै रहने विश्व बैंक लगायत संस्थाको प्रक्षेपण छ।
यो उत्साहजनक समाचारसँगै हाम्रो आर्थिक भविष्यलाई लिएर संशय पनि छ।
यो आर्थिक वृद्धि कति दिगो हुन्छ? कति वर्ष टिक्छ?
पछिल्ला केही वर्षमा देखिएको आर्थिक वृद्धिका तीनवटा प्रमुख कारण छन्।
पहिलो, सेवा क्षेत्र।
मुख्यतः खुद्रा व्यापार, होटल र रेस्टुरेन्टमा देखिएको वृद्धि। रेमिट्यान्स (विदेशमा नेपालीले काम गरी पठाएको पैसा) आय र पर्यटनमा भएको वृद्धिले यी क्षेत्र विस्तार भएका हुन्।
दोस्रो, भुइँचालोपछिको पुनर्निर्माणले निर्माण क्षेत्रमा बढेको गतिविधि।
तेस्रो, राम्रो मनसुनका कारण कृषि आयमा वृद्धि।
आन्तरिक आर्थिक वृद्धिका यी तीनै कारण दिगो भने छैनन्। रेमिट्यान्स आय लगातार बढिरहेको छ, जुन स्थिर आयश्रोत होइन। भुइँचालोपछिको पुनर्निर्माण सकिने क्रममा छ। रड र सिमेन्ट बिक्रीमा शिथिलता आएर भाउ घट्न थालिसकेको छ।
मनसुनको के भर! यसपालि नै कमजोर छ। बहुसंख्यक किसानले समयमा धान रोप्न पाएनन्।
केही वर्ष भुलुक्क बढेको हाम्रो आर्थिक वृद्धिदर फेरि सुस्त होला कि भन्ने नै अहिलेको मूल चिन्ता र सरोकार हो।
मध्यम आय भएको मुलुक बन्न नै हामीलाई लगातार एक-दुई दशकको उच्च आर्थिक वृद्धिदर चाहिन्छ। त्यो वृद्धिदर प्राप्त भएन भने हामी दीर्घकालसम्मै यो क्षेत्रको गरिब मुलुकका रूपमा रहिरहनेछौं।
आन्तरिक वृद्धिको प्रश्नसँगै हाम्रो अर्थतन्त्रको बाह्य खतरा झनै टड्कारो छ। बढ्दो व्यापार घाटाले यो चिन्तालाई थप बल दिएको छ।
पछिल्लो दस वर्षमा हाम्रो व्यापार घाटा पाँच गुणा बढेको छ। यति तीव्र रफ्तारमा व्यापार घाटा इतिहासमै बढेको थिएन। दस वर्षअघि हामीले ६८.६ अर्ब रुपैयाँ बराबरका सामान विदेशमा बेचेका थियौं। त्यो वर्ष हामीले विदेशबाट २९१ अर्ब बराबरका सामान किन्यौं। व्यापार घाटा २३० अर्ब रुपैयाँ जति थियो।
गत आर्थिक वर्ष हामीले ८१ अर्ब बराबरका सामान विदेशमा बेच्यौं भने १२४३ अर्ब बराबरका सामान विदेशबाट किन्यौं। व्यापार घाटा ११६२ अर्ब पुग्यो।
हाम्रो अर्थतन्त्रको दीर्घरोग बुझ्न अर्थशास्त्री नै बन्नुपर्दैन। हाम्रा पाठकहरूले पनि सजिलै बुझ्न सक्नुहुन्छ।